
पूर्णपुष्टि, असोज ७ । पोखरामा सूर्यदर्शन सहकारी पीडित बचतकर्ताहरूले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका पीडितहरूले सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरुपयोग गरेको आरोप लगाएका छन्।
यसैबीच, रास्वपाका नेता कार्यकर्ताहरूले शहीद चोकको चौतारामा भेला भई लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिँदै प्रतिप्रदर्शन गरिरहेका छन्। दुवै पक्षको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
यसअघि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरी पोखरा ल्याइएको थियो। जोशीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले झन्डै डेढ अर्ब रुपैयाँ अपचलन भएको र गोर्खा मिडियामा ५ करोड रूपैयाँ देखिएको बताए। उनले सहकारीका अध्यक्ष जीबी राईलाई भगाउनमा समेत लामिछानेको संलग्नता रहेको आरोप लगाए।
सहकारी पीडितहरूले गत माघमा लामिछानेसहित १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए। अहिले दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
