Wednesday, May 27News That Matters

राष्ट्रपतिबाट सजाय माफी पाएका सांसद चौधरी जेलबाट रिहा

पूर्णपुष्टि,फागुन ७ । राष्ट्रपतिबाट हालै सजाय मिनाहा भएका प्रतिनिधि सभाका सांसद अरुण चौधरी रिहा भएका छन् । आइतबार कैलाली कारागारमा रहेका सांसद चौधरी आज बिहान रिहा भएका हुन् ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन् । कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।

सांसद चौधरीलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहि अनुसार गत माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए ।