
पूर्णपुष्टि, चैत्र २६ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो बाहिरिएको छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुनुअघिको अडियो बाहिर आएको हो ।
कपुर डटकमले सार्वजनिक गरेको अडियोमा आफु स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम दिनुपर्ने भन्दै उनले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईसँग २ करोड मागेका हुन् । श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।
गत माघ ३ मा मन्त्रिपरिषद् विस्तार हनु अगाडी भएको संवादमा सांसद श्रेष्ठले स्वास्थ्य हामिले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भनेका थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर उनले भने ।
उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २,३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’ उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले ‘तपाईंलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरें, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् भनेका छन् । संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईं गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए ।
त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । ३ माघमा भएको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पायो । स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा भइन् । २२ माघमा सरकारबाट अलग भएको रास्वपा त्यसको दुई महिनापछि यो अडियो बाहिर आएको हो ।
निलम्बन गरी छानबिन हुने
मन्त्री बन्नका लागि पार्टीमा बुझाउनुपर्यो भन्दै रकम मागेको अडियो सार्वजनिक भएपछि यस विषयमा छानविन गर्ने रास्वपाले जनाएको छ । सांसद श्रेष्ठलाई निलम्बन गरेर छानविनका लागी समिति गठन गर्न लागेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आफ्नो सांसदले मन्त्री बन्नका लागि पार्टीमा बुझाउनुपर्यो भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने बताएको छ ।
