
पूर्णपुष्टि, बैशाख ४ । लिम्चुङबुङ गाउँपालिकाले पहिलो पटक हाटबजार मेलाको आयोजना नयाँवर्ष २०८० वैशाख १ देखि सुरु गरेको छ । स्थानीय कृषकहरुले उत्पादन गरेको सागसब्जी, अन्नबाली, खसीबाख्रा, कुखुरा, फलफुल आदिको बिक्री तथा बजारीकरण गर्ने उद्देश्यले हाटबजार राखिएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । नयाँवर्ष विशेष कार्यक्रमको आयोजना गरी नयाँवर्षको स्वागत संगै हाट बजारको भब्य उद्घाटन गरेको थियो ।
कार्यक्रमको अवसरमा स्थानीय कृषकहरुले मनोरञ्जन तथा कृषि प्रवद्र्धनको उद्देश्यले ५० रुपैयामा भाले, तीनसय रुपैयामा खसी चिठ्ठा राखेका थिए । जसमा स्थानीय एकबहादुर मगरले पचास रुपैयामा भाले पाए भने तीनसय रुपैयामा पालिकाका प्रशासकीय अधिकृत युवराज ओलीले खसी पाए । सांस्कृतिक कार्यक्रम समेत भएको थियो । यसै अवसरमा पहाडी जिल्लाको लोक प्रीय भलिबल प्रतियोगिता र पहाडका लागि नौलो र रोचक फुटबल प्रतियोगिता सञ्चालन भयो । आगामी पाँच गते सम्म हाटबजार सञ्चालन हुनेछ भने भलिबल र फुटबल प्रतियोगिताको फाईनल खेल भोली हुने पालिकाले जनाएको छ ।


