Monday, April 20News That Matters

लिम्चुङबुङमा बाँसको सामाग्री बनाउने १ महिने तालिम सम्पन्न

पूर्णपुष्टि, १६ जेष्ठ ।
उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकामा बाँसबाट निर्माण सामाग्रीको एक महिने तालिम सम्पन्न भएको छ । बैशाख १५ देखी सुरु गरिएको उक्त तालिम जेष्ठ १५ गते औपचारिक रुपमा सम्पन्न भएको हो । प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजना तथा लिम्चुङबुङ गाउँपालिकाको समन्वयमा तालिम संञ्चालन भएका थिए । तालिममा करिब १८ जना सहभागीहरु बाँसबाट सामाग्री उत्पादन गर्न पोख्त बनेका छन् । तालिमलाई पूर्व प्रहरी समेत रहेका बाँस सामाग्री उद्यमी चम्पक राईले सहजीकरण गरेका थिए ।

राईले भाटा, जरा र चोयाको आईटम निर्माण गर्न सिकाएको छ । बिषेशगरी जराबाट सजावतका सामाग्री निर्माण गरिएको छ भने चोया र भाटा बाट भने प्रयोगमुखी र सजावटका सामाग्रीहरु निर्माण गरिएको छ । पेन होल्डर, चुरु स्टेन्ट, डालो लान्लो, कुर्सि, टेवुल, mपोटो फ्रेम लगायतका सामाग्री निर्माण गरिएको हो । पालिकाको ३ र १ नं वडाका स्थानीयहरुलाई उक्त तालिम प्रदान गरिएको थियो । समापन कार्यक्रममा पालिका अध्यक्ष पुष्प राई, ३ नं वडा अध्यक्ष गुरुमणी कुमाई, पालिका उद्यम बिकास शाखाका सहजकर्ता हापेन्द्र भट्टराई, घरेलु उदयपुरका कर्मचारी, सहभागी तथा स्थानीयहरुको उल्लेखिय उपस्थित रहेका थिए ।