
पूर्णपुष्टि, चैत ८ । वान एक्स बेटबाट सट्टेबाजी गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार सिंह, ३२ वर्षका वासुदेव पाण्डे र २६ वर्षकी शिवानी तामाङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट विभिन्न सेवाप्रदायक कम्पनीहरुको सिमकार्ड ३४६ थान, विभिन्न कम्पनीहरुको मोबाइल फोन १० थान, विभिन्न बैंकहरुको चेकबुक ३ थान र एटीएम १४ थान र एसर कम्पनीको ल्यापटप १ थान बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर बताए । प्रहरी उपरीक्षक राठौरका अनुसार विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा गतिविधिहरुमा बेटिङ एप्लिकेशन वान् एक्स बेटबाट उनिहरुले सट्टेबाजी गराएका थिए । अनुसन्धानका क्रममा उनीहरुले ६२ करोड रुपैयाँ भन्दा बढीको सट्टेबाजी गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले ३५ जनाको नाममा खोलेको डिजिटल वालेटमार्फत ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँको र १५ जनाको नाममा रहेका ३४ वटा बैंकमार्फत १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ गरेको प्रहरीको दाबी छ । पक्राउ परेका व्यक्तिहरुबाट ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको सट्टेबाजी भएको प्रहरीले जनाएको छ ।
