Wednesday, June 10News That Matters

विराटनगरबाट क्षयरोगका २ कैदीबन्दी फरार

पूर्णपुष्टि, असोज १५ गते ।
उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुईजना कैदीबन्दी फरार भएका छन् । झापाका कैदीबन्दीमा क्षयरोग देखापरेपछि विराटनगरस्थित उपचारको क्रममा कैदी राजकुमार हेमरम र बन्दी मञ्जिल गुरुङ फरार भएका हुन् ।
क्षयरोग लागेपछि उनीहरु भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरु आज विहान फरार भएका हुन् ।
उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले फरार भएका कैदीबन्दीको खोजी तिब्र बनाइएको बताए ।
जिल्ला कारागार मोरङका निमित्त जेलर भगतका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।