Sunday, April 19News That Matters

संघीय संसदले २० महिनामा बनायो १० वटा कानून

पूर्णपुष्टि, असोज २३ ।  प्रतिनिधि सभाको निर्वाचन भएको २० महिनामा संघीय संसदले बजेटसँग सम्बन्धित बाहेक १० वटा विधेयक पारित गरी कानून निर्माण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक र बुधबार नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेसँगै यो संख्या पुगेको हो ।

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी एउटै छातामुनि ल्याउने व्यवस्था गरेको छ । यो विधेयक दर्ता भएको चार वर्षपछि कानून बनेको हो ।

राष्ट्रिय सभामा उत्पत्ति भएर कानूनमा बदलिएका अन्य विधेयकहरूमा अभिलेख संरक्षण पहिलो संशोधन, सुरक्षण मुद्रण, खाद्य स्वच्छता तथा गुणस्तर, अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक र मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् । यस्तै, प्रतिनिधि सभामा उत्पत्ति भएर कानून बनेका विधेयकहरूमा लगानी सहजीकरण, सम्पत्ति शुद्धीकरण निवारण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी विधेयक छन् ।

हाल प्रतिनिधि सभाका विषयगत समितिमा संघीय निजामती कर्मचारी, विद्यालय शिक्षा, नेपाल प्रहरी र प्रदेश प्रहरी लगायत १० वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरू छिटो पारित गर्न सके वास्तविक उपलब्धि हासिल हुने बताएका छन् ।