Friday, May 15News That Matters

संसदीय ब्यवस्थालाई फोहोरको डंगुरको संज्ञा दिदै बजार र प्रशासनमा सरसफाई

पूर्णपुष्टि (उदयपुर) पुस ११
नेपाल कम्युनिस्ट पार्टी (विप्लब समुह) निकट युवा संगठन नेपालको जनमत संग्रहका लागि संगठन सदृढ तथा विस्तार अभियानको क्रममा सरसफाई कार्यक्रम गरेको छ ।
देशभरबाट प्रतिनिधिमुलक ढंगले उदयपुरको सदरमुकाम गाईघाटमा जम्मा भएका संगठन आवद्ध युवाहरुले आज गाईघाट बजार र सरकारी कार्यालयहरुमा सरसफाई गरेका हुन् । उनीहरुले संसदीय ब्यवस्थालाई राजनीतिक फोहोरको ढंगुरको संज्ञा दिदै जिल्ला प्रशासन कार्यालय उदयपुर लगायतका सरकारी कार्यालयहरु र बजार सफाई गरेका थिए ।

पार्टी र नेपालको राष्ट्रिय झण्डासहित रातो पोशाकमा सफाईमा उत्रिएका उनीहरुले संसदीय ब्यवस्थाको विरुद्ध नाराबाजीसमेत गर्दै सफाईमा खटिएका थिए । सरसफाईमा संकलन भएका फोहोरलाई नगरपालिकाको ट्याक्टर र ट्रकबाट विसर्जन गरेका थिए ।

१२९ औं माओ जयन्तीको अवसर पारेर गरिएको सरसफाई वातावरण स्वच्छ बनाउन र फोहोरी राजनीतिलाई सम्ल्याउने सन्देशसहित कार्यक्रम गरिएको पार्टीका उदयपुर सेक्रेटरी लक्ष्मण पौडेलले बताए । युवा जागरण तथा राजनीतिक सन्देशका लागि सफाई कार्यक्रम राखिएको उनले बताए । देशमा वैज्ञानिक समाजवादको आवश्यकता रहेको र यसको हल जनमत संग्रहबाट मात्र हुने विचार पार्टीका कटारी नगरपालिका इन्चार्ज अमृत खत्रीले बताए ।

पार्टीको संसदीय ब्यवस्थाविरुद्धको जनमत संग्रहको कार्यक्रमलाई पूर्वमा प्रभावकारी बनाउने अभियानमा युवाहरुको भुमिकाका लागि उदयपुरबाट सुरुवात गरिएको संगठनका केन्द्रिय अध्यक्ष पाटन जंगलीले बताए । देशभरका युवाहरुको प्रतिनिधिमुलक उपस्थितिमा हुने अभियानको उद्घाटनलाई पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढा मगर, केन्द्रिय सदस्य ओम पुन, विभागीय इन्चार्ज कृति लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

सरसफाई फोटो फिचर