Wednesday, April 22News That Matters

सरकार परिवर्तनको अन्योलमा मन्त्रीहरूको दैनिकी

पूर्णपुष्टि, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रीहरूको दैनिकीमा प्रभाव परेको छ। विभिन्न मन्त्रालयका मन्त्रीहरूले आफ्नो कार्यशैलीमा परिवर्तन आएको बताएका छन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सरकार ढल्ने अवस्थाबारे धेरैले प्रश्न गर्ने गरेको बताए। उनका अनुसार मन्त्रालयमा नियमित कामहरू भइरहे पनि काम गर्ने उत्साहमा कमी आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले पनि राजनीतिक अवस्थाबारे धेरै जिज्ञासा आउने गरेको र काम गर्ने गतिमा कमी आएको बताए। तर उनले मन्त्रालयको दीर्घकालीन योजनाहरूको तयारी गरिरहेको जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले भने वर्तमान सरकार ‘फुल फेज को रहेको दाबी गर्दै नियमित काम जारी राखेको बताए। मन्त्रीहरूले सरकार परिवर्तन भएमा आ–आफ्नो पुरानो बासस्थानमा फर्कने तयारी गरेको बताएका छन्। प्रधानमन्त्री प्रचण्ड पनि बालुवाटार छाडेर खुमलटारस्थित पुरानो निवासमा सर्ने तयारीमा रहेको जानकारी प्राप्त भएको छ।