Tuesday, April 21News That Matters

सरस्वती सामुदायीक बन उपभोक्ताले गर्यो ६८ विपन्न घर परिवारलाई जस्ता वितरण

पूर्णपुष्टि, २१ जेष्ठ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ का श्री सरस्वती सामुदायीक वन उपभोक्ता समूहले विपन्न घर परिवारलाई जस्ता वितरण गरेको छ । समूहको आर्थिक बर्ष २०८१÷०८२ को कार्य योजना अनुसार फुसको छानो विस्थापित गर्ने उदेश्य सहित समूहको ६८ विपन्न घर परिवारलाई आईतबार जस्ता वितरण गरेको हो । समूहका अध्यक्ष टोप बहादुर मगरका अनुसार आईतबार जाँते स्वास्थ्य चौकी परिसरमा जस्ता वितरण गरेको हो । मगरले बर्षेनी सामुदायीक वनको आम्दानीबाट उपभोक्ताहरुलाई आवश्यक कुराहरुमा सहयोग गर्दै आएको बताउनुभयो । वडाअध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधि र कर्मचारी टोली सँगै संञ्चारकर्मीहरु समेतको बृहत उपस्थितिमा जस्ता वितरण गरिएको अध्यक्ष मगर बताउनुभयो ।

समूहका सचिव कोपिला राउत (कार्की) ले ६८ घर परिवारलाई ४० एमएम को ३ बन्डलको दरले २०४ बन्डल हरियो रंगको जस्ता वितरण गरिएको बताउनुभयो । समूहमा रहेका १७० उपभोक्ता घर परिवार मध्ये ६८ विपन्न घर परिवारलाई पहिचान गरी निष्पक्ष रुपमा जस्ता प्रदान गरिएको सचिव कार्कीले बताउनुभयो । कार्कीका अनुसार यस वन उपभोक्ता समूहले बिगत देखीनै उपभोक्ताहरुका लागि बिभिन्न क्षेत्रमा सहयोग पुराउँदै आएको छ । समूहले विपन्न परिवारको लागि लगतार तिन पटक जस्ता वितरण गरेको छ । जसमा पहिलो पटक १० घर, दोस्रो पटक ३७ घर र तेस्रो पटक ६८ घर गरी जम्मा ११५ घर परिवारलाई जस्ता प्रदान गरिसकेको छ । वनले उपलब्ध गराउँदै आएका जस्ताका कारण खरको छानो विस्थापित भैसकेको अवस्था छ । जस्ता सँगै बिगतमा १६० घर परिवार उपभोक्ताहरुलाई ग्याँस चुल्हो पनि वितरण गरेको छ भने खानेपानीको हिल ट्याङकी पनि प्रदान गरिएको छ ।

 

यस बाहेक पनि महत्वपूर्ण क्षेत्रहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सिँचाई र बजार व्यवस्थापनको लागि टतबन्धनमा पनि समूहको आर्थिक सहभागी रहेको छ । समूहको सक्रियतामा समूह भित्र रहेका विद्यालय, स्वास्थ्य चौकीहरुलाई पनि आर्थिक व्यवस्थापनमा सहयोग पुराईएको हो । वडाअध्यक्ष मान वहादुर राईले हाल संञ्चालित कार्यसमिति प्रतिको काम सन्तुष्ट रहेको जनाउनु्भयो । जस्ता वितरण गर्न कार्यक्रम स्थल पुगेका राईले सामुदायिक बनको आर्थिक स्रोत साधनलाई पार्दशिताको साथ चलायमान बनाएको भन्दै सँधै उपभोक्ताको हितमा काम गर्न आह्वान गर्नुभयो ।

यस कार्यसमितिको पहलमा वन समुदायले समेत गरिविको क्षेत्रमा महत्वपूर्ण काम गर्दा वडा सरकारलाई समेत गरिवी न्युनिकरणमा सहज भएको राईको भनाई छ । जस्ता पाएपछि उपभोक्ताहरु उत्साहित बनेको छ । घरको छानो फेर्न वा नयाँ घर निर्माणका लागि वनले जस्ता प्रदान गर्दा आफ्नो लगानी जोगिएको उनिहरुको भनाई छ । तिन बन्डलले सबै छानो फेर्न वा नयाँ घर निर्माणका लागि नपुग्ने भएपनि आफ्नो थोरै लगानीमा जस्ता थपेर घरको छानो परिवर्तन गर्न र घर निर्माण सकिने उनिहरुको भनाई छ ।
उनिहरुले आउँदो समयमा पनि आफ्नो सामुदायिक वनको स्रोत साधनहरु प्रयोग गर्न पाउने कुरामा आशावादी रहेको भन्दै सामुदायीक वनलाई धन्यवाद दिएको छ । जस्ता वितरण कार्यक्रममा वडाअध्यक्ष मान वहादुर राई, वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य गोमा कार्की, वडा सचिव महेश खनाल तथा कर्मचारी विष्णु तामाङ, संञ्चारकर्मी द्धय विक्रम राई, चेवान राई र समूहका पदाधिकारी तथा कार्यसमिति सँगै स्थानीय तथा उपभोक्ताहरुको सहभागी रहेका थिए ।