
पुष्टिपुष्टि संवाददाता
उदयपुर । ६ चैत्र, २०८२ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगा उदयपुरको १९ औ स्थापना दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी, मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक थापाले दीप प्रज्वलन तथा इष्टदेवी देवताको फोटोमा पुष्प अर्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । स्थापना दिवसको खुसियालीमा उहाँले केकसमेत काट्नुभयो । त्यसअघि उहाँले त्रियुगामाता मन्दिर दर्शन तथा सहिद स्मारिकामा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरू, विभिन्न खेलकुद प्रतियोगिताका सर्वोत्कृष्टहरूलाई पुरस्कृत गरिएको थियो भने अमरसहिद परिवारका सदस्यहरूलाई सम्मान गरिएको थियो । भूतपूर्ण सशस्त्र प्रहरी तथा सहयोगीहरूलाईसमेत कदरपत्र वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सशस्त्र प्रहरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित र राष्ट्रिय स्वार्थका लागि रातदिन खट्दै आएको बताउनुभयो । देश र जनतालाई छातीमा राखेर कर्तव्य पालना गर्दै आएको र सदैव तत्पर रहने बताउनुभयो । शान्ति सुव्यवस्था, विकास निर्माण, हुलदङ्गा नियन्त्रण, विपद व्यवस्थापन तथा नागरिकहरूको सहयोगमा डटेर लागि ।पर्दै आएको बताउनुभयो । देश र जनताप्रति समर्पित भई कर्तव्य पालना गर्न मातहतका सबैलाई निर्देशन समेत उहाँले गर्नुभयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राइ, प्रमुख जिल्ला अधिकारी धर्मध्वज जाेशी, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक इन्द्रराज कार्की, नेपाली सेना पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय उदयपुरका उप अनुसन्धान निर्देशक तुलसी कटेल, जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक निरञ्जन थापा लगायतकाे उपस्थिति थियाे ।
२०७५ जेठ २७ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार स्तरोन्नति भएको सो गण २०६३ चैत्र ६ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसको रुपमा स्थापना भएको थियो भने २०६६ माघ १५ गते सशस्त्र प्रहरी बल नेपाल त्रियुगा गुल्मको रूपमा स्थापना भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका –९ रातमाटेमा रहेको सो गणले शान्ति, सुरक्षा र प्रतिबद्धताको नारासहित काम गर्दै आएको छ ।
खेलकुदतर्फ उत्कृष्टहरु पुरस्कृत
स्थापना दिवसको अवसरमा भएको विभिन्न खेल मध्ये ब्याडमिन्टन डबल्सतर्फ सशस्त्र प्रहरी उपरीक्षक एवं गणपति श्यामणि ढकाल र सशस्त्र प्रहरी सहायक हवलदार मिनबहादुर खड्काको जोडी उत्कृष्ट भएका थिए ।
टेबल टेनिसतर्फ सशस्त्र प्रहरी वरिष्ठ हल्दार योगेश तामाङ उत्कृष्ट भए । दुई माइल दौडमा सशस्त्र प्रहरी जवान श्री भगवान् यादव उत्कृष्ट भए । हाजिरी जवाफतर्फ सशस्त्र प्रहरी वरिष्ठ हवल्दार रिम्खाबहादुर श्रेष्ठ, हवलदार सगरमाथा पौडेल, सहायक हवल्दार बालसुन्दर राय, सहायक हवलदार रमेश कुमार निरौला र जवान सुजन मगर उत्कृष्ट भएका थिए ।
प्रकाश राई मासिक जवान
सो गणमा कार्यरत सशस्त्र प्रहरी जवान प्रकाश राई उत्कृष्ट काम गरेबापत मासिक जवान घोषित भए । उनलाई कार्यक्रमको अवसरमा प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरी उत्कृष्ट कामको कदर गर्नुभयो ।
उत्कृष्ट कार्य गर्ने छ जना पुरस्कृत
गण अन्तर्गत उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका ६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक गणेशबहादुर सुनुवार, वरिष्ठ हवलदार शिवराज खड्का, हवलदार विधाराज कार्की, सहायक हवलदार सन्तबहादुर तामाङ, जवान सम्झना राई र परिचर ज्ञानबहादुर आले मगर पुरस्कृत भएका हुन् । उनीहरूलाई प्रमुख अतिथि थापाले प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभयो।
प्रमुख अतिथि थापालाई गणको तर्फबाट सलामी अर्पण गर्नुका साथै गणपति सशस्त्र प्रहरी उपरीक्षक श्याममणि ढकालले मायाको चिनो प्रदान गर्नुभयो ।
फाेटाे फिचर :





