Sunday, November 8News That Matters

सातदोबाटोलाई हराउँदै जर्जियन एफसीले जित्यो प्रथम त्रियुगा गोल्डकपको उपाधि

वीरसबाबु शाही, पूर्णपुष्टि

२१ कार्तिक २०८३, उदयपुर ।  पश्चिम बंगालको जर्जियन फुटबल क्लबले सातदोबाटो फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै प्रथम त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै जर्जियन एफसीले ट्रफी र नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जर्जियन एफसीका जर्सी नम्बर २९ का करण चौधरीले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको सुरुवातदेखि नै आक्रमक देखिएको सातदोबाटोले अन्तिम समयसम्म खेल बराबरीमा ल्याउन निरन्तर प्रयास गरे पनि सफलता हात पार्न सकेन । सातदोबाटोले गोलका आधा दर्जन अवसर सिर्जना गरे पनि जर्जियन एफसीका गोलरक्षक सचिन सुब्बा बाधक बने । डिबक्स नजिक पाएको फ्रिकिकसमेत लक्ष्यमा पुग्न नसक्दा सातदोबाटो उपाधिबाट वञ्चित भयो ।

उपविजेता बनेको सातदोबाटो फुटबल क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच जर्जियन एफसीका करण चौधरी घोषित भए । उनले नगद ७ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ जर्जियन एफसीकै गोलरक्षक सचिन सुब्बा सर्वोत्कृष्ट गोलरक्षक घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । त्यसैगरी, सातदोबाटोका पदम भट्टराई उत्कृष्ट डिफेन्डर र रोहन कार्की उत्कृष्ट मिडफिल्डर घोषित भए । दुवैले जनही १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता जर्जियन एफसीका सञ्जय धिमाल बने । उनले प्रतियोगिताभर ब्यक्तिगत ३ गोल गर्दै हाइस्कोररको उपाधि जिते । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, जर्जियन एफसीका प्रशिक्षक तोप्देन कार्थक लेप्चा सर्वोत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जर्जियन एफसीका मञ्जील खड्का घोषित भए । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रथम संस्करणको उपाधि जितेसँगै जर्जियन एफसीले त्रियुगामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई उपाधिमा परिणत गरेको छ । बिजेता खेलाडीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत,उपमेयर महेश्वरी राई, प्रहरी उपरिक्षक राजन चापागाई,जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष कल्पना राई,गाइघाट फुटबल क्लबका रञ्जन कार्की र सुमन चौधरीले सम्युक्त रुपमा नगद र ट्रफि हस्तान्तरण गर्नु भएको थियो ।