Friday, May 1News That Matters

सामान ढुवानी गर्न फोक्सिनटारमा घिर्नीको प्रयोग

पूर्णपुष्टि, साउन १० । उदयपुर र खोटाङ जिल्ला जोड्ने सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा सामान ढुवानी गर्नको लागी घिर्नी जडान गरिएको छ ।

गत असोज १२ गते आएको अविरल बर्षा सहितको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने मोटरेबल पक्की पुल बगाएपछि अस्थायी बेलिब्रिज जडान गरिएको थियो ।

एक करोड बढी लागतमा ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरेर गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । वर्षा सुरु भएसँगै सुनकोशीमा पानीको बहाब बढेपछि गत जेठ ५ गतेबाट पूर्णरूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलीब्रिज झिकिएको थियो । बेलीब्रिजसमेत झिकिएपछि विकल्पमा घिर्नी जडान गरिएको हो ।

विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पाँचधारे सडक कालोपत्रका लागि सामान ढुवानी गर्न फोक्सिङटरमा घिर्नी जडान गरिएको याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीका ठेकेदार महेश रेग्मीले बताएका छन् । “रसुवा–पाँचधारे सडकअन्तर्गत रसुवा–सिम्पानी १५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ । जसका लागि सामान ढुवानी गर्न सुनकोशीमा घिर्नी जडान गरिएको हो”, रेग्मीले भने , “आवश्यक परेको खण्डमा दैनिक उपभोग्य सामान पनि तार्न सकिन्छ ।”

फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । खोटाङबाट पूर्वी तराई आउजाउ गर्ने छोटो दूरीको सडक बन्द भएसँगै यात्रुहरु पुन लामो दूरीको घुर्मी–कटारी सडकखण्ड हुँदै आवतजावत गर्न बाध्य भएका छन् ।