
पूर्णपुष्टि, चैत १० । गाईघाट । उदयपुरको त्रियुुगा नगरपालिका १२ निवासी अशोकला राईले १० वर्षदेखि गरेको बचत फिर्ता माग्दा साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, सेवा केन्द्र गाईघाटबाट पाएकी छैनन् । उनका अनुसार बचत फिर्ता पाउनुुको सट्टा दुर्ब्यवहार र मानसिक तनाव पाइरहेकी छिन् । बचत फिर्ताको निवेदन दिएको तीन महिना वितिसकेको छ । यसबीचमा पटक–पटक कार्यालय र बैंठक केन्द्रमा धाइन् तर, बचत फिर्ताको सट्टा धाकधम्की, दुर्ब्यवहार र मानसिक तनाव मात्र पाएको दुखेको पोखिन् । समुहमा अरुले ऋण पुरा चुुक्ता नगरेको बहाना देखाउदै आफ्नाे बचत फिर्ता नदिएको उनले बताइन् । खाइ–नखाइ दुःखले बचत गरेको पैसा फिर्ता पाउन उनको माग छ । साहाराका केही कर्मचारीले तल्लोस्तरमा गिरेर बोली र ब्यवहार गरेकाले मानसिक तनाव भोग्नु परेको उनको भनाई छ । करिब १० वर्षमा एक लाख बढि बचत भएको उनको अनुमान् छ । संस्थाले प्रष्ट हिसाव दिएको छैन । बचत, शेयर, पेन्शन लगायतका विभिन्न सेवाहरु पाउने/नपाउने अन्यौलमा छिन् उनी ।

त्रिनपा–१२ निवासी गोमा मगर पनि उस्तै पिडित बन्नु परेको बताउँछिन् । पटक–पटक धाउदा दुर्ब्यवहार र मानसिक तनाव भोग्नुु परेपछि अहिले जानै छाडेको बताउँछिन् उनी । “आफ्नाे बचत फिर्ता माग्न तल्लोस्तरको गाली गलौज सहनुुपरेको छ” उनले भनिन् । उनले बचत सुरु गरेको धेरै वर्ष नभए पनि आफ्नाे हिसाव स्पष्ट दिनुुपर्ने र बचत फिर्ता हुनुपर्ने माग छ ।
त्रिनपा ११ की शान्ति राईको पिडा पनि अशोकला र गोमाको जस्तै छ । उनले बचत फिर्ताका लागि निवेदन दिएको चार महिना वितिसक्यो । संस्थाको कार्यालय र केन्द्रमा पटक पटक बोलाएर दु:ख दिने काम मात्र भइरहेको छ । बचत तथा अन्य हिसाव पारदर्शी गरिएको छैन । पछिल्लो समय भने समुह र केन्द्रलाई देखाउदै पन्छिने र बचत फिर्तामा आलटाल गर्ने गरेको उनले बताइन् । बचत फिर्ता नगर्न र आलटाल गराउनमा समुहकै कतिपय सदस्याहरुसमेत मतियार बन्ने गसेको गुनासो पिडितहरुको छ ।
शिवपार्वती साहारा केन्द्र नं. ३२ की प्रमुख पुुष्पा राईले इच्छुक सदस्यहरुको बचत फिर्ता हुनुुपर्ने बताइन् । कसैले ऋण लिने र किस्ता तिर्दै जाने एउटा प्रक्रिया हो, त्यो चलिरहन्छ । अन्य सदस्यले ऋण किस्ता तिरिरहेको अवस्थामा त्यसकै बाहानामा बचत फिर्ता चाहनेलाई यसरी रोक्न गलत भएको बताइन् । उक्त केन्द्रकी प्रमुख राई आफै ऋणी हुन् । उनले किस्ता तिर्न केही मात्र बाँकी रहेको बताइन् । उनकै कारण अशोकला र गोमाको बचत फिर्ता साहाराले रोकेको छ । ऋण तिर्ने सदस्य समुहमा रहदा रहदै त्यसरी अरुको बचत फिर्तामा रोक लगाउने साहाराको कामप्रति उनको चित्त बुुझाई छैन ।
सेवा केन्द्र गाईघाटका प्रमुख दशरथ राजबंशीले फिल्डमा भएका कुराहरु आफुलाई थाहा नहुने भन्दै गैरजिम्मेवार जवाफ दिएका छन् । उनी बचतकर्ताको हिसाव, विभिन्न सेवा, सुविधाबारे पारदर्शी र जवाफदेखि देखिएनन् । केही कर्मचारीबाट भएको दुर्ब्यवहारप्रतिसमेत अनविज्ञता प्रकट गरे ।
साहारा नेपालका एक अनुुगमन अधिकारी महेशकुुमार तामाङले स्थानीय समस्या हल गर्न र सदस्यहरुको सबैखाले समस्याप्रति जवाफदेही बन्ने गरी सेवा केन्द्र विस्तार गरिएको बताए । त्यहाँबाट हल हुन नसके केन्द्रबाट पनि गर्न सकिने बताए ।
लघुवित्त सस्थाहरूकाे यस्तै गलत हर्कत र ब्यवहारका कारण सर्वसाधारणकाे विश्वास गुम्दै जानुकासाथै खारेजीकाे मागसमेत उठेकाे छ । सेवाको नाममा सर्बसाधारण महिला दिदीवहिनीहरुलाई समुहमा आवद्ध गराई बचत गराउने र फिर्ता गर्न र निस्कन नदिने अनेक बहाना बनाउने गरेको पाइन्छ । उनीहरुलाई समुहमै अल्झाई राख्ने र दुहुनो गाई जस्तो शोषण गरिराख्ने गलत नीति अवलम्बन गरेको पाइएको पिडितहरु बताउछन् ।
सम्पर्कमा नआएका उनिहरु जस्ता विभिन्न संस्थाका थुप्रै पिडितहरु रहेकाे लघुवित्त संस्थाविरुद्धकाे संघर्ष समिति, प्रदेश सल्लाहकार मनाेज थापाले बताए ।
