
पूर्णपुष्टि, असार २३ ।
उदयपुरमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा सोमबार धर्ना दिएका छन् । उदयपुर सुनचाँदी व्यवसायी संघ र सगरमाथा सुनचाँदी व्यवसायी संघको नेतृत्वमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुले दिउँसोदेखी करदाता सेवा कार्यालयको गेट अगाडी शान्तिपूर्ण धर्नामा बसेका हुन् ।
जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुले तेस्रो चरणको आन्दोलनको रुपमा करदाता कार्यालय गाईघाटको गेट अगाडी शान्तिपूर्ण धर्नामा बसेको उदयपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष काशी सोनिले बताए । उदयपुरमा सुनचाँदी ब्याबसायीहरुले अनिश्चितकालका लागी पसल बन्द गरेर आन्दोलनमा उत्रिएसँगै सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर र मुर्कुची बजारमा सुनचाँदीको ब्यापार थप्प भएको छ ।
सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीहरुले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग राखेका छन् ।

