
पूर्णपुष्टि, फागुन १६ । कतारमा अर्जेन्टिनालाई विश्व च्यान्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनीले अब २०२६ सम्म अर्जेन्टिनालाई प्रशिक्षण गर्ने भएका छन् । ४४ बर्षीय स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नविकरण गरेका छन् ।
सोमबार राति पेरिसमा भएको समारोहमा अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया र स्कालोनीबीच सम्झौता नविकरण भएको संघले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएको हो । स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिना ३६ बर्षपछि विश्व च्याम्पियन बनेको हो । फाईनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकपको ट्रफि उचालेको थियो ।
स्कालोनी सन् २०१८ मा अन्तरिम प्रशिक्षक नियुक्त भएका थिए । तर पछि अर्जेन्टिना फुटबल संघले उनलाई स्थायी प्रशिक्षक बनाएको थियो । २०२१ मा स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिनाले कोपा अमेरिकाको ट्रफी उचालेको थियो । स्कालोनीले फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड समेत जितेका छन् ।
स्कालोनीले सम्झौता नवीकरण गरेपछि २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त आयोजना हुने विश्वकपसम्म अर्जेन्टिनालाई प्रशिक्षण गर्ने छन् । अर्जेन्टिना फुटबल संघले राष्ट्रिय फुटबल टिमले मार्च अन्तिममा पनामा र कुराकाओसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको जानाएको छ ।
