Wednesday, April 22News That Matters

स्पेन कीर्तिमानी चौथो पटक युरोकप च्याम्पियन

पूर्णपुष्टि, असार ३१ । स्पेनले आफ्नो युरोकप इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको छ। जर्मनीको बर्लिनमा आइतबार भएको रोमाञ्चक फाइनलमा इंग्ल्याण्डलाई 2-1 ले पराजित गर्दै स्पेनले चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि हात पारेको छ। यो जितसँगै स्पेन युरोकपको सर्वाधिक सफल राष्ट्र बनेको छ।

खेलमा स्पेनका निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे भने इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीनवटै गोल भए। स्पेनले युरो 2024 मा खेलेका सबै सात खेल जितेको छ, जसमा समूह चरणदेखि फाइनलसम्म प्रभावशाली प्रदर्शन गर्‍यो।

यो जितले स्पेनको युरोकपमा लामो र सफल इतिहासलाई थप उचाइमा पुर्‍याएको छ। उनीहरूले पहिले 1964, 2008 र 2012 मा उपाधि जितेका थिए। अर्कोतर्फ, इंग्ल्याण्ड लगातार दोस्रो पटक उपविजेतामा सीमित हुन पुग्यो ।