Sunday, June 28News That Matters

२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्यो विद्यार्थीलाई कारबाही

पूर्णपुष्टि, वैशाख २४ गते ।
लोक सेवा आयोगको परीक्षा दिन गएका एक जना विद्यार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गरेको छ । कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाईे परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो ।
१७ वैशाखमा सञ्चालन भएको खुला÷समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षामा सिंजापतिले परीक्षाको मर्यादित विपरीत काम गरेको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले जारी गरेको सूचनामा उल्लेख छ ।
आयोगका अनुसार आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिंजापतिले मोबाइलमार्फत सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । २२ वैशाखमा बसेको आयोगको बैठकले सिंजापतिलाई आगामी २ वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।