Wednesday, June 10News That Matters

आज नव निर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गर्ने

पूर्णपुष्टि, फागुन २९ । आज नवनिर्वाचित राष्ट्रपति एवम् नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिने भएका छन् । आज (सोमबार) दिउँसो १ बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति पौडेललाई हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनेछन् ।

प्रधानन्यायाधीश नभएका कारण कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीबाट पौडेलले सपथ ग्रहण गर्ने छन् ।  यहि फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिपर्धी सुवास नेम्वाङलाई पछि पार्दै पौडेल निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए । पौडेलले नेम्वाङको भन्दा दोब्बर मतभारका साथ विजयी हासिल गरेका थिए ।

संविधान बमोजिम राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाचँ बर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन पाईने छैन् । नेपालमा २०६२÷६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् ।

राष्ट्रपति भण्डारीले दुई कार्यकाल पुरा गरेकी छन् । उनले आज शितलनिवास छाड्ने छन् र बूढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् । कार्यकालको अन्तिम दिन भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्ष नेताहरुले शीतलनिवासमा भेटघाट गरेका थिए ।