Thursday, June 11News That Matters

उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र

पूर्णपुष्टि, वैशाख २९ गते ।
स्थानीय चुनावको लागि उदयपुरमा सबै तयारी पूरा हुने क्रममा रहेको छ । शुक्रवार हुने स्थानीय चुनाव मतदानका लागि विभिन्न मतदान स्थलहरुको तयारी व्यापक भइरहेको छ । यो बिहिवार बेलुका सम्म तयारी पुरा गरि भोली विहान ७ बजेदेखि मतदान सुरु हुने छ । उक्त मतदानका लागि उदयपुरमा ९८ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्रहरु तयारी हुदँैछ । जसमध्ये ४ वटा भने नमुना महिला मतदान केन्द्र निर्माण भएका छन् । त्रियुगा नगरपालिका वडा नं. ९ आधारभूत विद्यालय रातमाटे र उदयपुरगढी गाउँपालिका वडा नं. ५ पञ्चावती माध्यमिक विद्यालयमा नमुना महिला मतदान स्थल निर्माण भएको छ । यी २ स्थलमा २÷२ मतदान केन्द्र गरि ४ मतदान केन्द्र रहेको छ । यस केन्द्रमा खटिने सम्पूर्ण कर्मचारीहरु महिला रहनेछ ।
आधाभूत विद्यालय रातमाटे (केन्द्र (ख) की मतदान अधिकृत रमुना राउतका अनुसार रातमाटेमा क र ख गरि २ केन्द्र रहेको छ । उनले यस मतदान केन्द्रमा खटिने सम्पूर्ण कर्मचारीहरु महिला रहेको जनाईन् । राउतले कर्मचारी लगायत सुरक्षाकर्मीहरु समेत महिला नै हुने जनाईन् । यस केन्द्रको (क) मा सुनिता प्रधान महिला मतदान अधिकृत रहेकी छिन् भने (ख) मा राउत महिला अधिकृत रहेकी छिन् । प्रधान र राउतले भोलीको स्थानीय चुनावमा मदान गराउने छिन् ।
जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाकाअनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन् । जसमध्ये एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।