
पूर्णपुष्टि, वैशाख १२ गते ।
उदयपुरमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ताको काम आज धमाधम गरिरहेका छन् । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित आठैवटा निर्वाचन अधिकृतको कार्यालयमा धमाधम उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाईघाटमा विहान ११ ः ०० बजे नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गरायो भने दिउसो १ बजे नेकपा एमालेले दर्ता गरायो । दिउसो ३ बजेदेखि गठबन्धनको उम्मेदवारी दर्ता गरिएको छ भने अन्तिम समयमा राप्रपा नेपालको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।
गठबन्धनको तर्फबाट त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एकिकृत समाजवादीका बलदेव चौधरी, उपमेयरमा नेकपा माओवादी केन्द्रकी गिता खड्का कार्कीको उम्मेदवारी दर्ता गराएको छ ।
गठबन्धनबाट मेत्रीपूर्ण प्रतिष्पर्धाका साथ छुट्टै उत्रेको नेपाली कांग्रेसले मेयरमा बसन्त बस्नेत र उपमेयरमा सरिता राईको उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमालेबाट मेयरमा भागवत राउत र उपमेयरमा महेश्वरी राईको उम्मेदवारी दर्ता गराएको छ ।
अन्य पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयहरुमा पनि धमाधम दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दिपक खनालले बताउनुभयो ।
