
पूर्णपुष्टि, २१ बैशाख ।
उदयपुरकी त्रियुगा नगरपालिका वडा नं ८ बैरेनीकी ४० बर्षिय बिनिता दनुवारको मोवाईलमा मलेसियामा रहेका श्रीमान भोजु दनुवारको अडियो मेसेज आउँछ । अडियो पढ्न नमिल्ने भएकाले उनिले मेसेजमा आएको अडियोलाई क्लिक गरेर सुन्छीन् । सँधै घरायसी ब्यवहार र सामान्य कुराकानी गरिरहने बिनिता यो पटकको अडियो सुनेर होस गुमाउँछिन् । सप्तकोशी मेनपावर काठमाण्डौँबाट ३ बर्ष अघि मलेसिया पुगेका भोजुले श्रीमतलाई होस गुमाउनेखाले अडियो मेसेज गर्छन् । मलाई मार्न कम्पनीको सुपरभाईजरले केटाहरु खटाएको छ,“ तिनिहरुले मलाई भित्र भएपनि मार्छ बाहिरै गएपनि मार्छ,”“ तिनिहरुले मार्नु भन्दा बरु म आफै मर्छु,” यहि भनाई अडियो मार्फत भोजु दनुवारले आफ्नो श्रीमतीलाई पठाउँछ । त्रियुगा नगरपालिका वडा नं ८ बैरेनीका ४० बर्षिय भोजुले सायद आफ्नो मृत्यु पक्का भएको थाहा भएरै यो अडियो पठाएको आकलन गरिएको छ ।

भोजुले यो अडियो बिनितालाई बिहिबार मात्रै पठाएका थिए । बिहिबारको मेसेजले नै थलिएकी बिनिताले लगत्तै शुक्रबार श्रीमान झुण्डीएर आत्महत्या गरेको खवर पाईन् । श्रीमान मृत्यु भएको थप खवरले ४ दिन देखी विनिता होसमै छैन् । रुँदा रुँदा आँखा सुन्निएको छ भने स्वर भासिसकेको छ । परिवारलाई प्राप्त अडियो र भोजु मृत फेला परेको घटनाको अवस्थाको आधारमा परिवारले घटना शंकास्पद भएको जनाएको छ । परिवारका अनुसार भोजु सुतेको जस्तै देखिन्छ, सोही अवस्थामा माथी डोरी देखिन्छ । घाँटीमा डोरीले कस्सिएको देखिँदैन परिवारको भनाई छ । घटना शंकास्पद भन्दै घटना उपर छानविन र अनुसन्धान गर्न परिवारले माग गरेको छ । आईतवार परिवारले सुरक्षित आप्रवासन (सामि) मार्फत मलेसियालाई घटनाबारे जानकारी गराउने गरी प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गत सामि परियोजनाले उक्त घटनाको अवस्थाबारे तत्काल मलेसियाको सम्बन्धित ठाउँमा जानकारी गराउने जनाएको छ । सोही आधारमा लाशको पोष्टमार्टम गर्ने काम अघि बढ्ने जनाईएको छ । भोजुको लाश हस्पिटलमा राखिएको छ । घटनाबारे जानकारी गराएपछि सोही आधारमा एमवेसीले पोष्टमार्टमको अनुमति दिने र त्यसैको आधारमा घटनाको अवस्था पत्ता लगाउने दोषी देखिए कार्वाही अघि बढ्ने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
