Wednesday, April 29News That Matters

मुख्यमन्त्री कार्कीको एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव

पूर्णपुष्टि, बैशाख २१ । नेकपा एकीकृत समाजवादीका नेताहरूले कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा १७ वटा विषयका १३८ बुँदे मागपत्र बुझाउन पुग्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र समाजवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् ।

आइतबार मुख्यमन्त्री कार्यालयमा एकीकृत समाजवादीका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्युरो सदस्यहरू महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायत तीन दर्जन नेताहरूले मागपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछिको अनौपचारिक छलफलमा मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलाएर एउटै गौरवशाली पार्टी बनाउने प्रस्ताव गरेका हुन् ।

“यो अनौपचारिक कुरा हो, तर दुई वटाले गौरवशाली पार्टी किन भन्ने? दुईवटै गौरवशाली मिलाएर एउटै गौरवशाली बनाऔँ,” मुख्यमन्त्री कार्कीले भने । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका कार्कीको प्रस्तावमा समाजवादीका नेताहरूले कुनै जवाफ दिएनन् ।

एकीकृत समाजवादीकी प्रदेश अध्यक्ष सरिता थापा खड्काले कार्यक्रममा आफ्नो पार्टीलाई “गौरवशाली पार्टी नेकपा एकीकृत समाजवादी पार्टी” भनेकी थिइन्, जसले गर्दा मुख्यमन्त्री कार्कीलाई पार्टी एकताको प्रस्ताव राख्न प्रेरित गरेको बुझिन्छ ।

समाजवादी पार्टीले बुझाएको मागपत्रमा गिरीबन्धु टी-स्टेटको जग्गा विषयमा उच्च स्तरीय छानबिन गर्न, प्रदेश सरकारको विकास निर्माणमा हुने ढिलासुस्ती र गुणस्तरको अनुगमन गर्न शक्तिशाली संयन्त्र निर्माण गर्न र फजुल खर्च कटौती गरी सरकार सञ्चालनलाई मितव्ययी बनाउन माग गरिएको छ ।

कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, ऊर्जा तथा विद्युतीकरण, शिक्षा र रोजगारी लगायत १७ वटा विषयमा माग राखिएको छ । मागपत्रमा प्रदेश नामकरणमा पहिचानको विषयमा सम्बन्धित पक्षसँग वार्ता गरी निकास निकाल्नुपर्ने र मुकुम्लुङ (पाथीभरा) केबलकार निर्माणको विवाद समाधान गर्न पहल गर्न पनि माग गरिएको छ ।

मुख्यमन्त्री कार्कीले समाजवादी पार्टीले राखेका अधिकांश माग र मुद्दाहरू जायज रहेको भन्दै प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका लागि यी मागपत्रले सहयोग गर्ने बताए ।

पूर्वमुख्यमन्त्री राईले भने आफूहरूले शान्तिपूर्ण ढंगले मागपत्र बुझाए पनि माग पूरा नभए आन्दोलन गर्न बाध्य हुन सक्ने चेतावनी दिए । “हामीले शान्तिपूर्ण ढंगले माग पत्र बुझाएका छौँ । यसलाई त्यही ढंगले सहजताका साथ पूरा गर्न आग्रह गर्दछौँ । हाम्रा माग पूरा नभए हामी सडक आन्दोलन गर्न बाध्य हुनसक्छौँ,” राईले भने ।