
पूर्णपुष्टि, कार्तिक ७ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ जोगिदहका कृषकहरुको धानबाली नफल्दा दशैंतिहार खल्लो भएको छ । कृषकहरु केशब अधिकारी, भुपाल दाहाल, कृष्णबहादुर अधिकारी, सुवास कार्की, मिश्र विक लगायतको दुईविगाहा बढि खेतमा धान नफल्दा दशैंतिहार मात्र खल्लो भएन अव वर्षदिनभर के खाने भन्ने चिन्ता छाएको छ ।
“गतवर्ष पाँच कठ्ठामा २५ मन धान फलेकोमा यसपटक २५ माना पनि फलेन ।” कृषक केशब अधिकारीले भन्नुभयो । सबैभन्दा धेरै कृष्णबहादुर अधिकारीको १८ कठ्ठामा धान फलेन । कृषकहरु परालको लागिमात्र काट्न थालेका छन् ।
कृषकहरुले गाईघाटबजार स्थित स्थानीय सिर्जना एग्रोभेट र अभिषेक एग्रोभेटबाट सम्बासद कटर्नी नामको बिउ लगेर रोपाइ गरेको बताएका छन् । फल नलागेपछि धानको बोट घाँसका लागि मात्र काट्ने काम भएको स्थानीय रुद्र अधिकारीले बताउनुभयो ।
विउ र बोट राम्रै देखिएपनि फल नलागेको कृषकको भनाइ छ । बोटमा किरा तथा रोग नदेखिएकाले बिउकै कारण नफलेको हुनसक्ने अनुमान त्रियुगा नगरपालिकाका कृषि अधिकृत प्रमिला दनुवारको छ ।
धानबालीमा ठुलो क्षती भएपछि कृषकहरुलाई हातमुखै जोड्न समस्या परेको छ । उनीहरुले सम्बन्धीत निकायलाई गुहार्दै हिडेपनि समस्याप्रति चासो नदिएको गुनासो गरेका छन् ।
अनविज्ञ अवस्थामा रहेको कृषि ज्ञान केन्द्र, उदयपुर र नगरपालिका कृषि शाखालाई समस्या बारे कृषकहरुले हिजो जानकारी दिएका छन् ।
