
पूर्णपुष्टि, उदयपुर, भदौ ३१ गते ।
जेन्जी आन्दोलनको नाममा अराजक समूहले गाईघाटमा पनि सार्वजानिक र निजी सम्पत्तिमा क्षती पुराएको छ । आन्दोलनको दोस्रो दिन अराजक प्रदर्शनकारीहरुले करिब दिउँसोबाट भौतिक संरचना तोडफोड गर्न सुरु गरे । एमाले पार्टी कार्यालय, माओवादी पार्टी कार्यालय र कांग्रेस पार्टी कार्यालयहरु सहित अन्य साना दलहरुको समेत पार्टी कार्यालय तोडफोड र आगजानी भएको खवर छ ।
सरकारी कार्यालयहरु जिल्ला प्रशासन कार्यालय सहित अन्य कार्यालय र त्रियुगा नगरपालिका, त्रियुगा नगरपालिका ११ नं वडा र १२ नं वडामा पनि तोडफोड र आगजानी गरिएको छ । यता निजी सम्पत्तिको रुपमा जनप्रतिनिधिहरुले नोक्सान बेहोरेको छ । त्रियुगा नगर प्रमुख वसन्त वस्नेतको घरमा तोडफोड गरिएको छ । यस्तै उपसभामुख सिर्जना दनुवारको घर पनि तोडफोडले ध्वस्त छ । यता उपप्रमुख महेश्वरी राई र पूर्व मेयर बलदेव चौधरीको घर त तोडफोड सहित आगजानी पश्चात चोरी गरिएको छ । त्यस्तै ११ नं वडाअध्यक्ष सुमन्त कोईरालाको पनि घरमा तोडफोड गरिएको छ । कोशी उपसभामुख सहित त्रियुगाको जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गर्दै क्षनीबारे पत्रकारलाई जानकारी गराएको हो ।

उपसभामुख दनुवार, मेयर वस्नेत, उपमेयर राई र वडाअध्यक्ष कोईरालाले एकै स्वरमा भने,” यो हामिले जनप्रतिनिधि भएपश्चात कमाको र बनाको घर हैन,“ यो हाम्रो बाउवाजेले आर्जेको घर सम्पत्ति हो, । उपमेयर राई त छलफलमै सम्हालिन सकिनन् । उनी भक्कानिदै मेरो के दोष थियो ? म जनप्रतिनिधि हुनु कयौँ बर्ष अगाडी बनेको घरमा आगो लगाउने ? यस्तै उपसभामुख दनुवारले पनि आफु उपसभामुख हुन अगाबै बनाएको घर बताईन् । आमाको नाममा रहेको जग्गामा आफुले दुख गरेर घर बनाएको उनको भनाई छ । यस्तै वस्नेतले जुगौँ पहिला आफ्नो पुर्खालेनै गाईघाटमा जग्गा सम्पत्ति जोडेको बताए । यता अध्यक्ष कोईरालाले पनि वडाअध्यक्षको आम्दानी नभई बर्षौँ पहिलाको आफ्नो घर सम्पत्ति रहेको जनाए । अहिले उनिहरुले आफु घर बिहिन भएको जनाएको छ । घरमा चोरी र आगोले हेरिसक्नु नभएपछि आफुहरु त्यहाँ सम्म जान पनि नसकेको जनाएको छ । अहिले उनिहरु आफन्तकोमा बस्दै आएको बताए ।
