Sunday, April 26News That Matters

जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुुपर्ने आठ मोर्चाको संयुक्त माग

पूर्णपुष्टि/उदयपुर, भदौ २७ ।
जेनजी आन्दोलनका मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने आठ मुक्तीमोर्चाहरुले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट ती मोर्चाहरुले मृतकलाई शहिद घोषणा, उनका परिवारलाई क्षतिपुर्ति र घाइतेहरुको निशुःल्क उपचारको माग गरेका हुन् । किराँती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, कोच राष्ट्रिय मुक्ति मोर्चा, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, झागड उराव राष्ट्रिय मुक्ति मोर्चा, मेचे राष्ट्रिय मुक्ति मोर्चा र भोटे राष्ट्रिय मुक्ति मोर्चा, नेपालले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरी यस्तो माग गरेको हो ।
जेनजी पुस्ताले गरेका शान्तिपूर्ण आन्दोलनलाई भ्रष्ट, दलाल एवम् विचौलिया सरकारले परिस्थितिलाई उत्तेजित र हिंसात्मक बनाएको र त्यसबाट ३० जनाभन्दा बढि निर्दोष किशोर किशोरीको निर्मम हत्या भएकोप्रति आठ राष्ट्रिय मुक्तीमोर्चाहरुले संयुक्त विज्ञप्तीमार्फत भत्सर्ना गरेको छ ।
समुन्नत लोकतन्त्र एवं समृद्ध नेपालको सपना बोकी गरिएको आन्दोलनलाई मानवता विरोधी नरसंहारकारी कुकार्य गरिएको भन्दै घोर भत्सना र निन्दा गरेको जनाएको छ ।
भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखि गरिएको शान्तिपुर्ण आन्दोलनमा देशीविदेशी प्रतिकृयावादी एवं प्रतिगामी शक्तिहरु र अराजक तत्वहरुको घुसपैठ भएको विज्ञप्तीमा भनिएको छ । सत्ता र शक्तिको उन्मादले विवेक गुमाउन पुगेको सरकारको गैरजिम्मेवारपुर्ण रवैयाका कारण आन्दोलन हिंसात्मक बन्न पुगेको ठहर गरिएको छ । जसले अनाहकमा युवायुवतीहरुले ज्यान गुमाउनु परेको र सिंहदरबार, सर्वोच्च अदालत जस्ता ऐतिहासिक, पुरातात्विक एवं राष्ट्रिय महत्वका भौतिक संरचनाहरु जलेर नष्ट भएको जनाइएको छ । सयौं सार्वजनिक र निजी सम्पत्तिहरु ध्वस्त पारिदा मुलुक अर्को १० वर्ष पछि धकेलिन पुगेको ठहर गरिएको छ ।
आन्दोलनका क्रममा भएका नरसंहारकारी हत्या, सार्वजनिक एवं निजी सम्पत्तीको तोडफोड, लुटपाट तथा आगजनी र ध्वंसात्मक अराजकताको स्वतन्त्र एवं निष्पक्ष छानविन गरी दोषीहरुलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
जेन–जी पुस्ताले गरेको यो आन्दोलन लोकतन्त्रको सुदृढीकरण र अग्रगामी आन्दोलन हो भन्नेमा विश्वस्त ब्यक्त गर्दै जनताको वलिदानीपुर्ण संघर्षबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुापातिक समावेशिताको रक्षा रहेको छ । मुलुकमा व्याप्त भ्रष्टचार, वेतिथि, कुशासन र राजनीतिमा देखिएको विकृति एवं विसंगतिको अन्त्य गर्न लोकतन्त्रको सुदृढीकरणको माग गरेको छ ।
अहिलेको शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी हुने निर्वाचान प्रणाली, राज्य सत्ताको सर्वोच्च ओहदामा बसेका व्यक्तिहरुलाई पनि भ्रष्टचार एवं सम्पत्ती शुद्धीकरणको मुद्दामा कारवाही गर्न सक्ने शक्तिशाली संस्थागत एवं संवैधानिक व्यवस्था गरिनु पर्छ भन्ने ठहर मोर्चाहरुको छ । राजनैतिक स्थायित्व र स्थिर सरकारको लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने विषय विगतदेखि उठाउँदै आएको र आज जेन–जी पुस्ताको आन्दोलनको मुख्य माग पनि रहेको उल्लेख गरिएको छ ।
अहिलेको संक्रमणकालिन अवस्थाको निकाश प्राप्त उपब्धिहरुको रक्षा गर्दै संघीय संसदबाट संविधान संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरी संविधानसम्मत लोकतान्त्रिक प्रकृयाद्वारा गर्न जोडदार माग गरिएको छ ।
बढ्दो राजनैतिक घटनाक्रमहरु जसरी जुन ढंगले विकसित भैरहेको छ, यसले प्रतिगमनको गम्भिर आशंका पैदा गरेकोप्रति चिन्ता जनाउदै जेन–जी पुस्तासँग भैरहेको वार्ताको क्रममा राजावादी संगठन र अराजक समूह जस्ता प्रतिगामी एवं भारतीय दलाललाई महत्व दिनुले प्रतिगमनको खताराको संकेतसमेत गरेको पाइएको जनाएको छ ।
लाखौं जनताको वलीदानीपुर्ण संघर्षबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशिता जस्ता ऐतिहासिक उपलब्धीहरुलाई सिध्याएर मुलुकलाई फेरि पुरानै ठाउँमा पुर्याउने प्रतिगामी हरकतहरु भए त्यसको विरुद्धमा संघीय लोकतान्तिक गणतन्त्र र समुन्नत लोकतन्त्रका लागि अर्को भिषण जनविद्रोह हुनेसमेत जनाइएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, संविधानको सर्वोच्चता, जनतामा निहित सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि एक ढिक्का हुन सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर, वामपन्थी, देशभक्त, परिवर्तनका पक्षधर एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल गरिएको छ ।
बिज्ञप्तीमा किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष राम कुमार राई, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष मुक्सामहाङ मेन्याङबा कोच राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष ममता ताजपुरीया, धिमाल राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष तारिलाल धिमाल, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष मोहन टुडु, झागड उराव राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष राम लखन उराव, मेचे राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष कविराज मेचे र भोटे राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष सोनाम भोटेको संयुक्त हस्ताक्षर रहेको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ जना पुगेको सुरक्षास्रोतले जनाएको छ । प्रर्दशनबाट १ हजार ७७१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । जसमध्ये २८४ जना भर्ना भएर उपचार भइरहेको छ ।