
पूर्णपुष्टि, गाईघाट असार १९ गते ।
कोशेली गार्मेन्ट उद्योगले त्रियुगा नगरपालिका ३ का महिलाहरुलाई लोप हुँदै गएको नेपाली दौरा सुरुवाल र जवाडी तालिम दिएको छ । एक महिना सम्म सञ्चालन भएको तालिमको बिहिबार समापन गरिएको छ । वडाअध्यक्ष तिलक कटुवालको उपस्थितिमा तालिम प्रदान गरिएको महिलाहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिम सम्पन्न गरिएको हो । बिगतको समयमा कोशेली गार्मेन्ट उद्योगले सिलाई सम्बन्धि अन्य कपडाहरुको तालिम प्रदान गर्दै आएको भएपनि यो पटक भने गाउँ समाजमा लोप हुँदै गएको दौरा सुरुवाल र जवाडी तालिम प्रदान गरेको हो । यसले नेपालको पुरानो पहिरनलाई ताजा अवस्थामा फर्काउने उदेश्य सहित तालिम प्रदान गरिएको गार्मेन्ट संञ्चालक ज्ञानु प्रधानले बताउनुभयो । यस उद्योगले बिभिन्न सिप सम्बन्धी तालिमहरु प्रदान गरिहेको पनि प्रधानको भनाई छ । वडाअध्यक्ष तिलक कटुवालले महिलाहरुले सिकेको सिपलाई जिवन उपयोगी बनाउन सुझाव दिनुभयो । यस सिपको भरपुर सदुपयोग र प्रयोगमुखी बनाउन कटुवालले सहभागीहरुलाई सुझाव दिए । सिपनै सबै भन्दा ठुलो सम्पत्ति रहेको जनाउँदै सिप प्रदान गर्ने कोशेली गार्मेन्टलाई धन्यवाद समेत ब्यक्त गरे । तालिम संयोजक मधुकर थापाले तालिमका लागि आर्थिक सहयोग पुराउने ३ नं वडा कार्यालयलाई धन्यवाद ब्यक्त गरे । पछिल्ला दिनहरुमा पनि सिप विकासको लागि वडाले बजेटहरु ब्यवस्थापन गर्दै जानु पर्ने थापाको भनाई छ । आफ्नो सिप र कलालाई आर्थिक सहायताको रुपमा रुपान्तरण गर्ने सहभागीहरुको भनाई छ ।

