
पूर्णपुष्टि, ११ असोज ।
कारागारकै कर्मचारीले महिला कैदीवन्दीमाथी बलत्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी परेको छ । जाहेरीअनुसार बलात्कारमा आरोपी सिराहा राजविराज नगरपालिका– ८ का ३५ वर्षीय चन्दन भनिने चन्द्रनारायण यादव हुन् । उनले महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लगी ५ माघ ०८० को अपराह्न ४ः३० बजे बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । बलात्कारमा संलग्न चन्दन सप्तरीस्थित कागागार कार्यालयमा १७ वर्षदेखि कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका छन् ।
कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहन कसुरमा जन्मकैद भुक्तान गरिरहेकी महिलालाई कारागारकै कर्मचारीले बलात्कार गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा परेको हो ।
उक्त घटनालाई ढाकछोप र पोल खुल्ने डरले पीडितलाई सप्तरी, सिराहा र उदयपुर लगायत बिभिन्न ठाउँको कारागारमा सरुवा गरिएको पाईएको छ । ति महिलालाई हाल सरुवा गरी उदयपुर कारागार ल्याईको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले महिला कैदीबन्दीमाथि बलात्कार भएको भन्दै जाहेरी परेको र जाहेरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएको बताए । ‘सप्तरीबाट सरुवा भई उदयपुर कारागार आएकी महिलामाथि बलात्कार भएको जाहेरी हामीकहाँ परेको हो । जाहेरीमा उल्लेख भएअनुसार वारदातस्थल सप्तरी कारागार कार्यालय हो । त्यसैले अनुसन्धानका लागि प्राप्त जाहेरी जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाइएको छ । अब उतैबाट अनुसन्धान प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जाहेरीबारे जानकारी नभएको बताए । ‘महिला कैदीबन्दीमाथि बलात्कारको विषयमा हामीकहाँ जाहेरी परेजस्तो लाग्दैन । यद्यपि, यस सम्बन्धमा बुझ्नैपर्ने हुन्छ । शाखा कार्यालयमा पनि जाहेरी आउन सक्छ,’ उनले भने । जिप्रका उदयपुरले गत ३० भदौमै जहेरी जिप्रका सप्तरी पठाएको भएपनि जिप्रका सप्तरीमा अहिलेसम्म पनि जाहेरी दर्ता हुन सकेको छैन । पिडित महिलाका अनुसार घटनाबारे कसैलाई थाहा भए ज्यान मार्ने धम्की दिएका थिए । केहि समय डरैले घटनाबारे कसैलाई नसुनाएकी महिलाले आफुलाई अटसपटस भएपछि सँगै बस्ने एक महिलालाई सुनाईन् । पछि विस्तारै हल्ला पिडक चन्द सम्म पुग्यो । आफ्नो कर्तुत सार्वजनिक हुने डरले उनी आत्तिए । कारागार प्रशासनसँग मिलेर उनले महिलालाई ९ फागुन ०८० मा सिराहास्थित महिला कारागार सरुवा गराए । तैपनि उनमा बेचैनी कम भएन । उनी पटक–पटक सिराहा कारागार पुगे । र, घटना सार्वजनिक नगर्न भन्दै पीडित महिलालाई ज्यान मार्ने धम्की दिए । पटक–पटक सिराहा कारागार जानुपर्ने झन्झट भएपछि चन्दनले पीडित महिला कैदीबन्दीलाई गत १४ असारमा पुनः सप्तरी कारागारमै सरुवा गरेर ल्याए । घटना सार्वजनिक नगरिदिन भन्दै अनेक प्रलोभन दिए । ज्यान धम्की पनि दिए । तर, केही सीप नचलेपछि पुनः कारागार प्रशासनसँग मिलेर महिलालाई गत ८ साउनमा उदयपुर कारागार सरुवा गरे ।
पटक–पटक उदयपुर कारागार पुगेर उनले महिलालाई डर, धाकधम्की र प्रलोभन दिइरहे, तर महिला गलिनन् । उनी जाहेरी दिने निर्णयमा पुगिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनले गत २१ भदौमा कार्यालयमा जाहेरी दिएकी थिइन् ।
