रासस आलेखः चिठ्ठीपत्रविहीन हुलाकघर
काठमाण्डौँ, फागुन १८
झण्डै दुई दशकअघिसम्म पाल्पाका गाउँमा हुलाकी पसेपछि सर्वसाधारणमा खुसीको सीमा नै हुँदैनथ्यो । गाउँका चोक, चौतारामा बसेर हुलाकीले झोला खोल्दा कसको चिठी आयो भन्ने खुल्दुलीले मानिसहरू झुम्मन्थे । यो पछिल्ला पुस्ताका लागि भने एकादेशको कथा जस्तै बनेको छ ।
टाढाको नयाँ खबर, सन्देश लिएर आउने हुलाकी तत्कालीन समयको आशाको केन्द्र थिए । समुद्रपारि पुगेको छोरो होस् या घरदेखि टाढा गएका आफन्त, सबैको खबर उनै हुलाकी दाइले झोलामा बोकेर ल्याउँथे । कहिले हुलाकी आउलान् र, समुद्रपारि रहेको छोराको खबर पाइएला भन्ने बाटो हेर्दै बसेको क्षण अहिले ताजै रहेको रामपुरकी लक्ष्मी तिवारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा हुलाकी दाइ टाढैबाट आएको देख्दा पनि मन फुरुङ्ग हुन्थ्यो, पक्कै पनि मेरै छोराको खबर बोकेर आए भनेर खुशीले मन गद्गद हुन्थ्यो, चिठी हात परेपछि हतार हतार खोलेर गाउँमा पढेलेखेका छिमेकी...









