
पूर्णपुष्टि, बैशाख ७ । यहि बैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा निषेध गरिएको छ । निर्वाचन आयोगले आज विहिबार मध्यराती १२ बजेबाट प्रचार प्रसार गर्न निषेध गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आजबाट लागु भएको प्रचार प्रसार निषेध मतदान केन्द्र बन्द नभएन्जाल सम्मका लागी लागुहुने जानकारी दिए ।
आयोगबाट जारी विज्ञप्तीमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि क्रियाकलाप गर्न नहुने उल्लेख गरिएको छ । सामाजिक सञ्जाल तथा विद्युतिय माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा मत माग्न नपाईने पनि आयोगको विज्ञप्तीमा उल्लेख छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट हार जितको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न,गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।
आईतबार प्रतिनिधिसभा सदस्यका लागी हुन लागेको उपनिर्वाचन तनहँ निर्वाचन क्षेत्र नं १, चितवन निर्वाचन क्षेत्र नं २ र बारा निर्वाचन क्षेत्र नं २ मा निषेधको अवधि लागु हुने आयोगले जनाएको छ ।
