Wednesday, April 22News That Matters

त्रियुगा १५ मा भएको पहिलो खुल्ला वडा कपको उपाधि बर्गाछिले जित्यो

पूर्णपुष्टि, १५ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं १५ मा भएको प्रथम खुल्ला वडा कप फुटवल प्रतियोगिताको उपाधि बर्गाछि क्लव साउनेले जितेको छ । शनिवार शिखर भ्यु पाईन्ट स्यालगैरी खेलमैदानमा भएको प्रतियोगितामा साउने फुटवल क्लवलाई २÷० को अन्तरले हराउँदै उपाधि जितेको हो । बर्गाछिको तर्फबाट दोस्रो हाफको १८ औँ मिनेटमा १४ नं जर्सिका खेलाडी सनम राईले गोल गरेका थिए भने ५८ औँ मिनेटमा जर्सि नं ११ प्रविन राईले गोल गरेका थिए । यता साउने फुटवल क्लवको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । साउने फुटवल क्लवले आयोजक मुक्ति युवा क्लवलाई पेनाल्टी सुट आउटमा हराउँदै फाईनलको यात्रा तय गरेका थिए भने बर्गाछीले इलाभेन स्टार फुटवल क्लवलाई हराउँदै फाईनलको लागि स्थान बनाएका थिए । प्रतियोगिताका बिजेता टोलीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेता टोलीले पनि नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएका थिए ।

उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि आयोजकले सम्मान गरेका थिए । बिजेता र उपविजेता टोलीलाई कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारले पुरस्कार प्रदान गरिन् । त्रियुगा १५ वडा खेलकुद विकास समितिको आयोजनमा प्रतियोगिता गरिएका थिए । फुटवल खेल मैदान निर्माण पछि १५ नं वडाले प्रतियोगिताहरु आयोजना सुरु गरेको छ । जनता सँग उपमेयर कार्यक्रम मार्फत त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले २ लाख बजेट छुटाएपछि मैदानलाई थप स्तररोन्नति गरिएका थिए । यो सँगै स्थानीय युवा तथा खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका प्रयास राई लगायतको पहलमा मैदान निर्माणका लागि थप आर्थिक सहयोगहरु जुटाईएको थियो । बजेट भए मैदानलाई थप राम्रो बनाउन सकिने भन्दै स्थानीय, प्रदेश र संघिय सरकारलाई पनि बजेटको माग गरिएको छ । अगुवा व्यक्तित्व कमल राई, वडाअध्यक्ष गणेश तिमिल्सिना र प्रयास राईले बजेटका लागि महेश्वरी राई र सिर्जना दनुवारलाई थप बजेट समन्वयका लागि पनि आह्वान गरेको छ ।