
पूर्णपुष्टि, साउन १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी २०८४ सालको चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ। शुक्रबारदेखि पाँच दिनसम्म पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार यो निर्णयले पार्टीको विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरू प्रत्यक्ष रूपमा जनतासम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। उनले अघिल्ला चुनावी गठबन्धनहरूमा पार्टीको सिद्धान्त र विचार प्रचार गर्न कठिनाई भएको बताए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारबाट बाहिरिनु परेको परिस्थितिलाई एक्लै चुनाव लड्ने तयारीको अवसरको रूपमा लिएको जनाए।
यद्यपि, माओवादी केन्द्रले वामपन्थी सहकार्य र एकताको प्रयास जारी राख्ने बताएको छ। प्रवक्ता सापकोटाले देशभक्त र अग्रगामी शक्तिहरूको संयुक्त मोर्चा निर्माण गर्नुका साथै कम्युनिस्ट पार्टीको पुनर्गठनको प्रयास निरन्तर जारी रहने बताए।
