Friday, May 1News That Matters

प्रचण्डद्वारा जनतामा जाने र पार्टी सुदृढीकरणमा जोड

पूर्णपुष्टि, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अब सरकारमा जानुभन्दा जनतामा जाने र पार्टीलाई एकतावद्ध एवं सुदृढ बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने बताएका छन्। बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ११ औं स्मृति सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

प्रचण्डले माओवादी पार्टी परिवर्तनको साथै सुशासन र समृद्धिको एजेण्डाको जननी भएको उल्लेख गर्दै जनतामा यो कुरा स्थापित गर्न आवश्यक रहेको बताए। उनले वर्तमान सत्ता गठबन्धन षड्यन्त्रमूलक, अपारदर्शी र बिचौलियाको पहलमा बनेको आरोप लगाए।

पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न दुई जनालाई गिरफ्तार गरेपछि बिचौलियाहरू तिलमिलाएको दाबी गरे। उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफूहरूले खेलेको भूमिका केहीलाई सह्य नभएको बताए।

प्रचण्डले मिटरब्याज विरोधी कदम र आर्थिक समृद्धिका सवालमा आफूहरूले गरेको पहल केहीलाई चित्त नबुझेपछि गठबन्धन परिवर्तन भएको तर्क गरे। उनले आफूहरू विजेता र सरकारमा गएकाहरू पराजित भएको दाबी गर्दै जनताको मुद्दाबाट टाढा नजाने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा प्रचण्डले पार्टीलाई जनताका मुद्दा बोकेर जनतामा जाने अवसर प्राप्त भएको बताउँदै आगामी दिनमा पार्टी सुदृढीकरण र जनसम्पर्कमा विशेष जोड दिने संकेत गरे।