Monday, April 20News That Matters

प्रतिपक्षी एकता: माओवादी र रास्वपा सरकार विरोधी मोर्चामा

पूर्णपुष्टि, असोज ६ ।  कांग्रेस र एमालेको सत्ता समीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको छ। यस परिवर्तनसँगै, प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नजिकिने संकेत देखिएको छ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले विचार मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ। यसैगरी, रास्वपाले पनि मुद्दा मिल्ने दलसँग सहकार्य गर्ने बताएको छ। दुवै दलले सरकारलाई खबरदारी गर्ने विषयमा संसद्मा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

संसद्मा तेस्रो र चौथो स्थानमा रहेका यी दलहरूले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अघोषित मोर्चा खडा गरेका छन्। उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणको मुद्दामा यी दुई दल एकसाथ उभिएका थिए।

माओवादी उपमहासचिव शक्ति बस्नेतका अनुसार भ्रष्टाचारविरुद्ध, सुशासन र जनताका सरोकारका विषयमा रास्वपासँग सहकार्य हुनेछ। रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि सरकारका गलत कामविरुद्ध खबरदारी गर्ने बताएका छन्।

दुवै दलले संसदीय गतिविधिका साथै सडक आन्दोलनको पनि तयारी गरिरहेका छन्। माओवादीले तल्ला समितिलाई आन्दोलनको तयारी गर्न परिपत्र गरिसकेको छ भने रास्वपा सभापति रवि लामिछानेले पनि सडक आन्दोलनको सम्भावना औंल्याएका छन्। माओवादीले समाजवादी मोर्चा मार्फत समान विचार भएका दलसँग ध्रुवीकरण गर्ने रणनीति लिएको छ। रास्वपाले पनि राष्ट्र, राष्ट्रियता र जनजीविकाका मुद्दामा सहकार्य गर्ने नीति लिएको छ।