Tuesday, April 21News That Matters

प्रमुख राजनीतिक दलहरूले संविधान रक्षालाई केन्द्रमा राखेर संविधान दिवस मनाउने

पूर्णपुष्टि, असोज २ । जेनजी युवा आन्दोलनपछि रक्षात्मक अवस्थामा पुगेका प्रमुख राजनीतिक दलहरूले संविधान रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाउने तयारी गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भए पनि लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण हुनसक्ने आशंकामा दलहरू छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर दिवस मनाउन सर्कुलर गरिसकेको छ । उपसभापति पूर्णबहादुर खड्काले संयमता र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शीरमा राखेर दिवस मनाउने जानकारी दिए ।

नेकपा एमालेले काठमाडौंमा आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमा संविधान दिवस मनाउने तयारी गरेको छ । महासचिव शंकर पोखरेलले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले च्यासलस्थित पार्टी कार्यालयमा र ७७ वटै जिल्लामा वृहत कार्यक्रम आयोजना गरेर दिवस मनाइने बताए ।

नेकपा माओवादी केन्द्रले पनि आगजनी भएको पार्टी केन्द्रीय कार्यालय परिसरमै कार्यक्रम आयोजना गरेर दिवस मनाउने जनाएको छ । केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले संविधान र व्यवस्थाको रक्षाका लागि आह्वान गर्दै शहीदहरूको सम्झनामा दीप प्रज्वलन लगायतका कार्यक्रम आयोजना गर्ने बताए ।

७४ जनाको ज्यान जाने गरी भएको जेनजी युवा आन्दोलनका कारण यस वर्ष भव्यताका साथ उत्सव मनाउने योजना परिवर्तन भएको छ । अघिल्ला वर्ष जस्तै टुँडिखेलस्थित सैनिक मञ्चमा कार्यक्रम आयोजना हुने तर विगतको जस्तो तामझाम नगरी सामान्य तरिकाले दिवस मनाउने तयारी गरिएको गृह मन्त्रालयका अधिकारीले बताए ।