
पूर्णपुष्टि, गाईघाट/ असार २० गते ।
त्रियुगा नगरपालिका वडा नं १५ र १६ मा रहेको सरस्वती समुदायीक वन उपभोक्ता समितिले बिपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । समितिको गरिवी निवारण कार्यक्रम मार्फत करिब ३५ विपन्न घर परिवारलाई ३ बन्डलको दरले जस्तापाता वितरण गरेको हो । शनिवार जाँते स्वास्थ्य केन्द्रको प्राङगणमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख (डिएफओ) गजेन्द्र कुमार श्रेष्ठ, वन अधिकृत जागेश्वर शाह, त्रियुगा नगरपालिका वडा नं १६ का वडाअध्यक्ष मान वहादुर राई, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थितिमा जस्तापाता वितरण गरिएको हो ।
समितिले पटक पटकको कार्यक्रम गरी करिब १७० घर परिवारको हाराहारीमा जस्तापाता वितरण गरिसकेको समितिका अध्यक्ष टोप बहादुर मगरले जानाए । मगरका अनुसार अब ६ देखी ७ घरलाई भने अर्को कार्यक्रममा वितरण गर्ने जनाए । जस्तापाताले गरिब विपन्नको छानो फेरीएको छ । आर्थिक अभावले छानो फेर्न नसकेको परिवारहरु सामुदायिक वनले उपलब्ध गराएको जस्ता पाउँदा खुसी छन् ।

वडावासीहरुलाई सुखी र खुसी बनाउँन सबै क्षेत्रहरु उत्तिकै लागि परिरहेको वडाअध्यक्ष मान वहादुर राईले जनाए । राईले स्थानीय वडा सरकारले मात्रै जनताको इच्छा चाहाना र विकासको माग पुरा गर्न नसक्ने हुँदाले सम्बन्धि सबै क्षेत्रहरु लागि पर्नु पर्ने र परिरहेको जनाए । सामुदायीक वन स्थानीय वडा सरकार सँगै हातेमालो गर्दै जनताको आवश्यक पुरा गर्न लागि परिरहेको अध्यक्ष राईको भनाई छ । राईले वनले उपलब्ध गराएको जस्तापाता थन्काएर हैन सदुपयोग गरेर प्रयोगमा ल्याउन पनि सुझाए । जस्ता लगेर बेपत्ता बनाएर नराख्न अनुरोध समेत अध्यक्ष राईको छ ।
यस्तैगरी डिभिजन वन कार्यालय उदयपुरका प्रमुख (डिएफओ) गजेन्द्र कुमार श्रेष्ठले आउँने दिनहरुमा कार्यक्रमलाई परिवर्तन गर्न सुझाव दिएको छ । जस्तापाता ग्याँस जस्ता कुराहरु प्रदान गर्दा मात्रै गरिवी नहट्ने हुँदा उपभोक्ताहरुलाई सिप मुलक कार्यक्रममा जोड्न सुझाए । श्रेष्ठले बरु त्यस्ता बजेटले विद्यालय र सिप मुलक तालिमहरुको आयोजना गर्न श्रेष्ठले सुझाए । गरिवी हटाउन पहिले शिक्षामा विकास गर्न श्रेष्ठको जोड थियो भने गरिवी निवारणको अर्को पाटो भनेको सिपमुलक तालिमको आयोजना, जस्ले गर्दा सिप प्रयोग गरी रोजगार बन्न सकोस् । यसले मात्रै गरिवी हट्ने उनको भनाई थियो । बरु गाउँमा ड्राईभिङ, इलेक्ट्रीक जस्ता सिपहरु आवश्यक रहेको श्रेष्ठले सुझाए ।

