Wednesday, April 22News That Matters

बोक्से सचेतना टोल विकास संस्थाको आफ्नै भवन

पूर्णपुष्टि, १३ पुष ।
त्रियुगाकै नमुना टोल विकास संस्थाको रुपमा परिचित बोक्से स्थित सचेतना टोल विकास संस्थाले आफ्नै भवनबाट काम सुरु गरेको छ । शनिवार संस्थाको पाँचौ साधारण सभा सँगै संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले साधारण सभा तथा भवनको उद्घाटन गरिन् । त्रियुगाको १६ ओटा वडामा झण्डै ३ सय ओटा टोल विकास संस्था रहेका छन् । यस मध्ये उत्कृष्ट ५ मा पर्न सफल सचेतना टोल विकासले कार्य प्रगतिमा फड्को मारेको छ ।

साढे ६ लाख हाराहरीमा निर्माण भएको उक्त टोल विकास संस्थाको स्टोर रुम सहितको एक तले भवन व्यवस्थित रुपमा निर्माण गरिएको संस्थाका अध्यक्ष पर्शराज राईले जनाए । राईका अनुसार आर्थिक स्रोत साधनको अभावकै बिच ३ लाख ९० हजारमा जग्गा खरिद गर्दै तत्काल भवन निर्माणको कामलाई अघि सारिएको थियो । उनले उक्त भवनका लागि श्रमदानको ठुलो योगदान रहेको राईले जनाए । १३५ जना सक्रिय सदस्य रहेको यस संस्थामा अधिकांश भवन निर्माणका लागि श्रम गरिएको छ ।

श्रममा आफ्ना सदस्यहरु मात्र नभई अन्य टोल तथा फरक व्यक्तिहरुले पनि सहयो गरेको अध्यक्ष राईको भनाई छ । एक तले भवन निर्माणका लागि श्रम नगरेको भए साढे ६ लाखमा बन्न नसक्ने राईले जनाए । अध्यक्ष राईको सक्रिय नेतृत्वकै कारण श्रम र आर्थिक एकै साथ जुटाउन पहलले भवन निर्माण सम्पन्न भैसकेको छ । त्रियुगा नगरपालिकाको जनता सँग उपमेयर कार्यक्रम मार्फत एक लाख, १० नं वडा कार्यालयबाट ९० हजार र बाँकी बिभिन्न छिमेकी तथा अन्य टोल विकास संस्था, सामुदायिक वन, तथा अन्य व्यक्तिहरुबाट उठेको रकमले भवन निर्माण सफल भएको हो । यस्तैगरी संस्थाले आफ्नो २०८०÷०८१ का बिभिन्न प्रगति विवरण सहित पाँचौ साधारण सभा समेत सम्पन्न गरेको छ । संस्थाले १० लाख ६५ हजार ८१० रुपयाँ ऋण लगानी गरेको छ भने १२ लाख २३ हजार ७ सय सदस्यहरुको बचत रहेको छ ।