
पूर्णपुष्टि, ७ असार ।
त्रियुगा नगरपालिका वडा नं १६ ले आगामी वडा विकासका लागि छलफल अघि बढाएको छ । वडामा विकासको फड्को मार्न पन्च बर्षिय आवधिक योजना निर्माणको लागि दुई दिने बृहत कार्यशाला तथा छलफल चलाएको हो । जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा बुद्धिजिवी, शिक्षक, राजनितिक दल, टोल विकास संस्था, विद्यार्थी, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सामुदायिक संस्था, बाल क्लव लगायत वडाको विकास सँग सम्बन्धित प्रतिनिधिहरुको उपस्थितिमा बुधबार र बिहिबार वडा कार्यालय स्थित जाल्पा चिलाउनेमा दुई दिने बृहत आवधिक कार्याशाला आयोजना भएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वडागत स्वीकृत वडागत बजेट तथा कार्यक्रम अनुसार कार्यशाला गरिएको हो ।

कार्यशालामा वडाको भौतिक, आर्थिक ,सामाजिक ,विपद तथा वातावरण, सुशासन सेवा प्रवाह तथा संस्थागत क्षमता विकास सम्बन्धी वडाको वर्तमान अवस्थाको वस्तुस्थिति र आगामी पाँच वर्षको लक्ष्य समेत निर्धारण गरिएको छ ।
आगामी योजनाका लागि बिषेशतया “कृषि, बन, पर्यटन र दिगो विकासको पूर्वाधार, स्वस्थ, शिक्षित, सामाजिक न्याय समृद्ध वडाको आधार“ भन्ने नारा सहित वडाको दूरदृष्टि हुने सहमति समेत भएको छ । वडाको आवधिक योजना प्राथमिकताको क्षेत्रहरू निर्धारण गर्दै अपेक्षित उपलब्धिहरू समेत औल्याइएका छन् । वडाअध्यक्ष मान वहादुर राईका अनुसार उक्त योजना २०८२/०८३ देखि २०८६/०८७ सम्मका लागि हुनेछ । अध्यक्ष राईले योजना बन्नु भन्दा पनि त्यसको कार्यन्वयन गर्ने पाठो मुख्य रहेको जनाउनुभयो । सोही अनुरुप अवधि योजना कार्यान्वयन गर्नका लागि स्थानीय स्रोत साधन देखि बाह्य स्रोतको पहिचान परिचालन गरी योजना कार्यन्वयनका लागि प्रभावकारी लक्ष्य राखेको अध्यक्ष राईको भनाई छ ।

आवधिक योजना निर्माणसम्बन्धीे कार्यशालाबाट तयार हुने वडाको आवधिक योजनाको ड्राफ्ट मस्यौदा माथि सम्बन्धित विषयगत क्षेत्र, स्थानीय राजनीतिक दल तथा मुख्य सरोकारवालाहरू बिच प्रस्तुत गरी पृष्ठपोषणको सल्लाह सुझाव अनुसार मात्रै योजनालाई अन्तिम रूप दिइने अध्यक्ष राईको भनाई छ ।
योजनाबारे त्रियुगा नगरपालिका सहकारी तथा उद्यम विकास शाखाका प्रमुख विश्वजित राई र आलेप अधिकारी एक बहादुर राउतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव महेश खनालले गर्नुभयो, भने वडा सदस्य रामनारायण श्रेष्ठले उपस्थितिहरुलाई स्वागत गर्नुभयो । यता वडा सदस्य घमान सिंह राईले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । ।

