
२१ फागुन, २०८२ । उदयपुर
उदयपुरमा १०२ वर्षिय बृद्धले मतदान गरेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–६ जगरेटारका १०२ वर्षिय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालय मतदानकेन्द्र (क) बाट आज विहान मतदान गरेका हुन् ।
देशमा सुशासन स्थापना होस्, भ्रष्टाचारको अन्त्य होस् र देशको विकास होस् भन्ने चाहनाका साथ मतदान गरेको बृद्ध कार्कीले बताए । मतदान अधिकृत भुपध्वज रायमाझीका अनुसार छोराका साथमा आएर उनले मतदान गरेका थिए ।
बृद्ध कार्कीले यो विशेष अवस्थाको निर्वाचनले देशलाई विकास र निकास दिन सकोस् भन्ने चाहना राखेका छन् । सहजरुपले मतदान गर्न पाएको उनले बताए ।
उनीजस्तै अन्य बृद्धबृद्धा, अशक्त, गर्भवती महिला, अपांगता भएका ब्यक्तिहरुलाई पालो कुर्नु नपर्ने गरी छुट्टै लाईनको ब्यवस्था मिलाइएको मतदान अधिकृत रायमाझीले बताए । पुरुष र महिलाको छुट्टा छुट्टै लाईन बनाइएको र मतदातालाई प्रवेशद्वार र बाहिर जाने बाटो छुट्टाछुटै बनाइएको हाे ।
