Saturday, April 26News That Matters

चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

पूर्णपुष्टि, १९ फागुन ।

उदयपुरको चौदण्डीगढी नगरपालिका १ को वडा कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएको छ । नगरपालिकाले वडा भवन निर्माणको लागि बजेट विनियोजन गरेर निर्माण कम्पनी सँग सम्झौता गरी काम अघि बढाईसकेको अवस्थामा जग्गा दान गरेको स्थानमा भवन निर्माण नगरी अन्यत्र भवन बनाउन सुरु गरेको भन्दै विरोध उत्पन्न भएको हो । भवन निर्माणका लागि ३ महिनाको समय तोकेर काम अघि बढी सकेको अवस्था छ । तर वडा कार्यालय भवन निर्माण गर्नका लागि जग्गादाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण नगरी चौदण्डीगढी दरवारको परिसरमा भवन निर्माण गरेको भन्दै पूर्व जनप्रतिनिधि, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी लगायतका राजनितिक प्रतिनिधि र जग्गा दाताहरुले विरोध गरेको हो । उनिहरुले सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पूर्व वडाअध्यक्ष समेत रहेको रोहित तामाङको नेतृत्वमा जग्गादाता भोजराज सेढाई र शुसिल सेढाई, नेपाली कांग्रेसका प्रतिनिधि चक्र बहादुर राई, माओवादी केन्द वडा कमिटी संयोजक राज कुमार राई, जसपा वडा कमिटी संयोजक लेखक कुमार राई, जसपा जिल्ला कमिटी सदस्य मौसम वान्तावा लगायतको उपस्थितिमा ध्यानाकर्षण बुझाईएको हो ।

उनिहरुले तत्काल काम रोकेर दान गरेको जग्गामै भवन निर्माण गरी ऐतिहांसिक सांस्कृतिक सम्पदा संरक्षण गर्न आह्वान गरेको छ । हाल निर्माण गर्न लागिएको वडा कार्यालय भवन पर्यटकीय स्थल चौदण्डीगढी दरवारको रहेको उनिहरुले जनाएको छ । त्यस स्थानमा वडा कार्यालय भवन निर्माण गर्दा ऐतिहासिक सांस्कृतिक सम्पदा संरक्षण नहुने ध्याणकर्षण्मा उल्लेख छ । वडा कार्यालय भवन निर्माण गर्न लागिएको उक्त सार्वजानिक स्थल कार्यक्रमहरुका लागि उपयुक्त रहेको र खाली चौर भएको हुँदा त्यसको सौन्दर्यता मेटिने भन्दै त्यस स्थानमा भवन निर्माण नगर्न माग गरेको जनाएको छ । दान गरेको जग्गा छोडेर अन्य ठाउँमा भवन निर्माण गर्नु पर्ने रहस्य के रहेछ भन्दै उनिहरुले प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

दान गरेको जग्गामा भवन निर्माण गर्दा भवन ठिक ठाउँमा रहने र अगाडीको जग्गाहरुको संरक्षण साथै अन्य कार्यक्रमहरुका लागि सहज हुने उनिहरुको भनाई छ । जग्गा दाता सेढाईले एक रोपनी जग्गा वडा कार्यलय भवन निर्माणको लागि आफुले दिएको जनाए । पुरानो वडा भवन निर्माणमा पनि आफुले ५ आना जग्गा दिएको र पछि अरु थपेर एक रोपनी जग्गा दिएपनि दरवार आसपासको खुल्ला चौर मास्ने गरी अन्य ठाउँमा भवन निर्माण गरेको सेढाईको भनाई छ ।

पर्यटकीय स्थल भएको कारण त्यस ठाउँ लामो समय सम्मका लागि कार्यक्रमहरु गर्न, पार्किङ गर्न जस्ता कामको लागि सहज भएतापनि दिएको जग्गा नलिएर खुल्ला चौर मास्नेगरी भवन निर्माण सुरु गरेको सेढाईको भनाई छ । उनले भवन निर्माण गर्न साँझ सिमानै छुट्टाईदिएको र निर्माण कम्पनीले सोही जग्गामा काम पनि सुरु गरेको तर अलिकति खनेर एतिकै छाडेर खुल्ला चौरमा काम सुरु गरेको सेढाईको भनाई छ । के उदेश्य र के कारणले आफुले दिएको जग्गा छाडेर अरु ठाउँमै भवन निर्माणमा लागेको भन्ने कुरा आफैलाई थाहा नभएको सेढाई बताउँछन् ।

अलिकति खनेर अचानक दरवार परिसरको खुल्ला चौरमा गएर निर्माण काम थाल्दा आफु अचम्ममा परेको सेढाईले जनाए । बल मिचाईको भरमा उनिहरुले कसैलाई सोधिखोजी नगरी मनपरी हिसावले काम अगाढी बढाएको भन्दै सेढाईले समेत त्यस बारे आपत्ति जनाएको छ ।

यता भवन निर्माणको काम पाएका रुद्र लक्ष्मी कन्ट्रक्सनका प्रोपाईटर यादव कुमार कालिकोटेले आफुलाई निर्माण गर्न भनिएको ठाउँमा काम सुरु गरेको जनाए । नगरपालिका र वडाले नै आफुलाई यस स्थानमा निर्माण गर्न भनिएको भन्दै काम सुरु गरेको उनले जनाए । वडा कार्यालय पनि सर्वाजानिक अन्तर्गतकै भवन भएको हुँदा यस स्थानमा भवन बन्न आपत्ति नरहेको उनको भनाई छ । वडा कार्यालयको लागि जग्गा मौखिक रुपमा मात्रै दिएको भएपनि लिखित रुपमा पास नभएको र राजिट्रेसन नगरिदिएको उनले जनाए । जग्गा धनिले वडा कार्यालयको नाममा जग्गा पास नगरेको कालिकोटेको भनाई छ । आफुलाई भवन बनाउने ३ महिनाको समय दिएको र जग्गाको व्यवस्थापनमा एक महिना समय वितिसकेको भन्दै भवन निर्माण सुरु गरेको कालिकोटेको भनाई छ ।

सेढाईले भने ५ दिन अघि मात्रै जग्गा वडा कार्यालयको लागि भनेर दान गरेका थिए । उनले प्रक्रियाको लागि समय नै नलिई बल मिचाईले दिएको जग्गा छाडेर मनपरी सार्वजानिक जग्गाहरु अतिक्रमण गरी भवन निर्माण गर्न लागेको जनाए । कांग्रेस माओवादी सहितका प्रतिनिधिहरुले भवन जग्गा दिएको स्थानमै निर्माण गर्नु पर्ने माग गरिराख्दा निर्माण व्यवसायीले भने अन्यत्रमै भवनको काम सुरु गरिसकेको छ । निर्माण कम्पनीका कालिकोटे सोही वडाका एमाले वडा संयोजक समेत हुन् । त्यस वडामा एमालेकै वडाअध्यक्ष रहेको छ भने एमालेबाटै निर्वाचित कालुमान लामा नगर प्रमुख छन् ।