Sunday, May 24News That Matters

मिति निर्धारण परिपत्र र बजेट निकाशा नहुँदा उदयपुर राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

पूर्णपुष्टि, उदयपुर/जेष्ठ १० गते ।
उदयपुरमा नियमित रुपमा संञ्चालन गरिँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो बर्ष भने अन्योल बनेको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरले प्रत्येक बर्षहरुमा संञ्चालन गरिँदै आएको उक्त प्रतियोगिता यो बर्ष भने अन्योल बनेको हो । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालयका प्रमुख प्रकाश राम राईका अनुसार प्रदेश खेलकुद विकास बोर्डले समयमा प्रतियोगिताको मिति निर्धारण परिपत्र पठाउन ढिलाईका कारण प्रतियोगिता संञ्चालन गर्न नसकिएको बताउनुभयो । राईले प्रदेशले प्रतियोगिताको मिति निर्धारण परिपत्र सँगै बजेट पनि निकाशा नहँदा प्रतियोगिता अलमलमा परेको बताउनुभयो । शिक्षा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् केन्द्रको तर्फबाट २० देखी २२ गते सम्म प्रतियोगिताको मिति तोकेर परिपत्र आईसक्दा प्रदेशले भने कुनै पनि निर्धारण मिति हाल सम्म पठाउन सकेको अवस्था छैन् । प्रमुख राईले प्रतियोगिताको लागि आफुहरु तयारी रहेपनि यी बजेट अभाव र परिपत्रको कारणबाट ब्याक हुन परेको बताउनुभयो । प्रतियोगिता संञ्चालन गराउँन नपाउँदा आफुलाई दुख लागेको राईको भनाई छ । उदयपुरको प्रत्येक पालिकाहरुबाट ११० जना खेलाडीहरु छानिएर जिल्लामा समावेशको लागि तयारी छन् । तर प्रतियोगिता अन्योलले ति खेलाडीहरु सहभागी हुन नसकेको राईको भनाई छ । राष्ट्रपति रनिङ शिल्डमा भलिवल, कवडी, एथलेस्टीक, कराते, तेक्वान्दो र उसु लगाएतको खेलहरु समावेश रहेको छ । यी सबै खेलमा भलिवलमा १८ जना, कवडीमा १८ जना एथलेस्टिकमा ३८ जना, करातेमा १२ जना तेक्वान्दोमा १२ जना र उसुमा १२ जना गरी जिल्लामा ११० जना खेलाडीहरु सहभागी हुने प्रावधान छ । यी मध्ये जिल्लाले छानेर १०८ जना प्रदेश तिर पठाउनु पर्ने हुन्छ । तर यता प्रतियोगिता समयमै गराउन नसक्दा भने यी खेलाडीहरु खेलबाट बन्चीत बन्नु परेको गुणासो राईले पोखे । यता ह्याण्ड बल प्रशिक्षक समेत रहेकी बिन्दा थापाले पनि प्रतियोगितामाथी प्रदेशले चासो नदेखाएको बताईन् । उनले केन्द्रको परिपत्र अनुसार आपुहरुले १२ र १३ गते प्रतियोगिता सम्पन्न गरिसक्ने पर्ने भएपनि प्रदेशले अन्योल बनाएको बताईन् । प्रदेशले बजेट निकाशा र स्पष्ट धाराणा सहितको परिपत्र नपठाउँदा जिल्लामा प्रतियोगिता रोकिएको बताईन् । उदयपुर सहित अन्य थुप्रै जिल्लाहरु प्रतियोगिताको लागि अन्योल बनेर बसिरहेको छ । थापाले यसको सबै समस्या प्रदेशको ढिलाईको कारण बताईन् ।