
पूर्णपुष्टि/२० माघ, २०८२ । उदयपुर
उदयपुर १ का स्वतन्त्र उम्मेदवार देवराज रोका कल्याण रोकाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफू विरुद्ध भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् ।
उनले नेकपा एमालेका केही व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफू विरुद्ध भ्रम फैलाएको बताएका छन्। हिजो मात्र एमाले निकट उम्मेदवार र नेता कार्यकर्ताहरूसँग नाचगान गरेको पुरानो भिडियो सार्वजनिक गर्दै एमाले उम्मेदवारलाई समर्थन जनाएको जस्ता भ्रामक कुरा फैलाएको भन्दै आपत्ति जनाएका हुन् । उनले यस कार्यलाई अति निच कार्य भएको उल्लेख गरेका छन्। चुनावको सङ्गीन घडीमा आफू दृढ र इमान्दारपूर्वक स्वतन्त्र र साझा उम्मेदवारको रुपमा अगाडि बढिरहेको बेला यस्तो कार्य गर्नु निच कार्य हो। उनले भनेका छन् ।
केही समय अगाडि एमाले पार्टी उदयपुरले आफूलाई एमालेले चिन्दैन भनेर विज्ञप्ति निकाल्ने र अहिले एमालेको भन्दै भिडियो सार्वजनिक गर्ने यो कस्तो निच कार्य हो उनले प्रश्न गरेका छन्।
आफूलाई चिन्ने नचिन्ने एमाले उदयपुरले भन्ने हैसियत नराख्ने आफ्नो बारेमा एमालेको केन्द्रबाट धारणा आउनुपर्ने बताए ।
आफू एमालेको भागी उम्मेदवार नभएको पहिले नै प्रष्ट बनाइसकेकोले त्यसरी आत्तिनु नपर्ने उनले बताए ।
यसरी पुरानो भिडियो फोटो सार्वजनिक गर्दै भ्रम फैलाउनु निर्वाचन कार्यालयको ध्यानाकर्षण समेत उनले गराए । उनले यस विरुद्ध उजुरी गर्ने समेत बताएका छन्। उनले एमालेका उम्मेदवारका साथै अन्य उम्मेदवारहरू समेतलाई स्वस्थ प्रतिस्पर्धामा चुनाव लड्न अनुरोध गरे।
दलभित्र राजनीतिक संस्कार हराएको देखिएपछि आफू साझा उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । एउटा सामान्य पद र अवसरको लागि पार्टीभित्र धेरैलाई ढोग्नुपर्ने हजुर गर्नुपर्ने हेपा प्रवृत्ति सहनुपर्ने भएकाले परिवर्तनका लागि विद्रोह गरेको उनले बताए । विद्रोहले मात्र परिवर्तन सम्भव रहेको भन्दै उनले पार्टीभित्र सदियौंदेखि खुम्चेर बस्न नहुने धारणा उनले राखेका छन् । उनले आफूलाई जनताले साझा उम्मेदवारको रुपमा मतदान गर्ने बताएका छन् । कुनै एक पार्टीको उम्मेदवारभन्दा सबैको साझा उम्मेदवार बन्नु अहिलेको आवश्यकता उनले बताएका छन्। साझा उम्मेदवारले मात्र परिवर्तन ल्याउन सक्ने भएकाले आफू सोही धरातलमा उभिएको र जितको संघारमा रहेको उनले बताएका छन्।
