
पूर्णपुष्टि, १० असार ।
त्रियुगा नगरपालिकाले आगामी बजेट १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा नगरले उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यन्वयन गर्न नगर उप प्रमुख महेश्वरी राईले आगामी आर्थिक बर्षको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । उप प्रमुख राइले प्रस्तुत गरेको बजेटमा पुजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैया बजेट बिनियोजन गरिएको छ ।
नगर प्रमुख बस्नेतले सार्वजनिक गर्नु भएको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ ।

यस्तै उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहाने विद्यार्थीलाई पूर्ण छात्रवृति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई निशुल्क आँखा जांच तथा शल्यक्रिया, निशुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई घरमा पुगेर निशुल्क स्वास्थ्य परिक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई निशुल्क श्रमिक विमा गर्ने नीति रहेको छ । यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायीक बिद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक बिद्यालयलाई महिला मैत्री बिद्यालय स्थापना गर्ने, बिद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र बिद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रबार ’बुक फ्री डे’ घोषणा गरि वालवालिकाको नेतृत्व बिकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सिमान्तकृत असाहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

त्रियुगा नगरबासीको सम्मान युक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताउनु भयो । आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा रहेको छ । लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणिय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उहाँले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

