Thursday, April 23News That Matters

बोक्से खसी बजारको सरसफाई र पार्किङ व्यवस्थापन तत्काल गरिने

पूर्णपुष्टि, ७ भदौ ।
त्रियुगा नगरपालिका वडा नं १० बोक्से खसि बजारको पार्किङ व्यवस्थापन तत्काल गरिने भएको छ । प्रत्येक बुधबार संञ्चालन हुँदै आएको खसी बजारको पार्किङ व्यवस्थापनलाई सहजीकरण गरिने भएको हो । बुधबारका दिन लाग्ने खसि बजारको हटिया पार्किङले अस्तव्यस्त हुने गरेको छ ।

हटियाको दिन मुख्य सडकमै अटो, सिटी र बाईकले सडक अबरुद्ध गर्दा सवारी आवत जावतमै ठुलो समस्या पर्दै आएका थिए । बुद्धिजिवी तथा सचेतना टोल विकास समितिका अध्यक्ष समेत रहेका पर्शराज राईले उक्त अस्तव्यस्त अवस्था प्रति जानकारी गराउँदै यसको तत्काल समधानमा पहल कदमी चाल्नु परेको बताउनुभयो । शनिवार वडाअध्यक्ष किरण पाण्डेको उपस्थितिमा खसी बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली श्रेष्ठ, सचिव ज्ञानेन्द्र मगर, बुद्धिजिवी तथा टोल विकास समितिका अध्यक्षहरु सहित आसपासका व्यवसायीहरुलाई उपस्थिति गराएर बृहत छलफल गरिएको थियो ।

छलफलमा वडा अध्यक्ष पाण्डेले सरसफाई र पार्किङ अव्यवस्थीतलाई ततकाल सुधार गर्नु पर्ने जनाउनुभयो । पाण्डेले यसका लागि वडा सरकारले गर्नु पर्ने सहयोग र पहल कदमीका लागि आफु तयार रहेको बताउनुभयो । बिषेशगरी मुख्य सडकको पार्किङ अव्यवस्थितलाई पहिल्यैबाट व्यवस्थापन गर्न खोजिएको खसी बजार समितिका अध्यक्ष डिल्ली श्रेष्ठले बताउनु भयो । कतिपय समस्याका बीच पार्किङ व्यवस्थापन गर्न खोज्दा खोज्दै ढिलाई भएको र अबको समयमा भने सबैलाई व्यवस्थानका लागि नियम अनुसार निर्देशन गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । सचिव ज्ञानेन्द्र मगरले यसका लागि पार्किङ क्षेत्र तोकेरै व्यवस्थापन गर्ने तयारी रहेको जनाए । मगरले सबै पसले र व्यपारीहरु र सिटी, अटो र बाईकहरुलाई यसबारे सचेत गराउने पटक पटक जानकारी दिएर पनि नमाने कार्वाही गर्ने चेतावनी दिए ।