Tuesday, April 28News That Matters

सगरमाथा विमान स्थल : मन्त्रीको जवाफ सुनेपछि निराश उदयपुरवासी

पूर्णपुष्टि, २ पुष ।
लामो समय देखी विमान स्थल बन्ने आशामा बसेको उदयपुरवासीहरुमा थप निराश छाएको छ । उदयपुरको त्रियुगा नगरपालिका १ र २ मा पर्ने जोगिदहमा बन्ने भनिएको विमान स्थल बन्न मन्त्रालयले बजेटको अभाव रेहेको भनेपछि उदयपुरका जनताहरु थप निराश बन्न पुगेको हो ।

सोमवार प्रस्तावित सगरमाथा विमान स्थल निरिक्षणका लागि जोगिदह आईपुगेका संस्कृतिक पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालयमा विमान स्थल निर्माणका लागि बजेट नभएको सुनाए । उदयपुरवासीहरु भने विमान स्थल बन्ने प्रतिक्रियाका लागि मन्त्रीलाई ११ बजेदेखी कुरेर बसेका थिए । मन्त्री पाण्डे भने ढिलोगरिकन ४ बजे मात्रै जोगिदह पुगेका थिए । ढिलो आएका मन्त्रीबाट पनि जनताहरु विमान स्थल बन्ने सकरात्मक प्रतिक्रियाको पर्खाईमा थियो । तर पाण्डेले जनताहरुबीच आफ्नो कुरा राख्ने क्रममा मन्त्रालयले आवश्यक बजेट छुटाउन नसेको प्रतिक्रिया दिए ।

उनले विमान स्थल बनाउन मन्त्रालयमा पर्याप्त बजेट नहुँदा तिनै तहको सरकार र जनसहभागीता आवश्यक रहेको समेत सुनाए । विमान स्थल निर्माणमा प्रदेश र स्थानीय सरकारको पनि लगानी आवश्यक रहेको मन्त्रीले जनाए । पाण्डेले राज्य सँग बजेटको अवस्था नाजुक रहेको कारण विमान स्थल निर्माण कार्यलाई अघि बढाउन नसकेको बताए ।

मन्त्रीको कुरा सुनेर उदयपुरका नेता तथा जनताहरुमा भने निराश छाएको छ । पूर्व पराराष्ट्र मन्त्री समेत रहेका उदयपुरका कांग्रेस नेता डा. नारायण खड्काले कुनै पनि हालतमा विमान स्थल बन्नु पर्ने दवाव दिए । विमान स्थलकै लागि भनेर अर्बौँ सम्पत्तिको बन मासेर अहिले बाहाना बाजी गर्न नहुने खड्काको जिकिर छ । यदि विमान स्थल बन्ने कुरामा सरकारले अलमल गरे उदयपुरे जनता लिएर आफु मन्त्रालय घेराउ गर्न आउने समेत चेतावनी दिए । विमान स्थल निरिक्षणका लागि मन्त्री पाण्डे सहित मन्त्रालयको प्राविधिक टोली आएका जोगिदह आएका थिए । निरिक्षणमा उदयपुरका बिभिन्न दलका नेता, कार्यकर्ता र जनसहभागी थियो ।