सूर्य उपासनाको पर्व : छठ
अजयकुमार साह
नेपाल बहुजातीय, बहुभाष्ािक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । विविध जातजाति, भेषभूषा, रीतिरिवाज, धर्म, सँस्कृति, रहनसहन र परम्पराहरु यहाँका सम्पदा हुन् । नेपालमा असंख्य चाडपर्वहरु मनाइने गरिन्छन । यी चाडपर्वहरुमा विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्वको महत्वपूर्ण स्थान छ । छठ पर्व धार्मिक, साँस्कृतिक एवम सद्भाव बढाउने पर्व हो । यो पर्व नेपालको तराई–मधेशमा मात्र नभएर काठमाडौं उपत्यकालगायत नेपालका धेरैजसो शहरी क्षेत्रमा धुमधामका साथ मनाइन्छ । यस पर्वलाई छइठ, छठी, डाला छठ वा सूर्य षष्ठी व्रत पनि भन्ने गरिन्छ ।
सृष्टिको शुरुआतदेखिनै सूर्यको उपासना गरिदै आएको पाइन्छ । हिन्दूहरुको प्राचीन ग्रन्थ ऋग्वेदमा पनि सूर्य उपासनाको उल्लेख भएको छ । ऋग्वेदको चौधौं अध्यायमा सूर्यलाई विश्वको आत्मा मानिएको छ । अर्थववेदमा सूर्यलाई ब्रह्माको साकार रुप मानिएको छ, सूर्यलाई नै भगवान भ...









