सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर
काठमाण्डौँ, चैत १९
के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् । जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ ।
संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरुपमा ‘केही गरौँ’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी सङ्ख्यासहित...









