जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क
खलङ्गा, बैशाख १७
कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ ।
जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिनुहुन्छ । उहाँले भन्नुभयो, “जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।” उहाँका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ ।
इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ...









