लाउटारोको गोलमा अर्जेन्टिनाले जित्यो किर्तिमानी १६ औं पटक कोपा अमेरिका
पूर्णपुष्टि, असार ३१ । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको ४८औं संस्करणमा कीर्तिमानी १६औं उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
खेलको निर्णायक गोल अतिरिक्त समयमा आयो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ११२औं मिनेटमा जिओभानी लो सेल्सोको पासमा गोल गरे। यो लाउटारोको प्रतियोगितामा पाँचौं गोल थियो, जसले उनलाई टूर्नामेन्टको सर्वाधिक गोलकर्ता बनायो।
अर्जेन्टिनाका कप्तान लिओनल मेसी चोटका कारण ६६औं मिनेटमा मैदान छोड्न बाध्य भए। तर टोलीले उनको अनुपस्थितिमा पनि जित हासिल गर्न सफल भयो। यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको इतिहासमा सबैभन्दा बढी १६ पटक उपाधि जित्ने टोलीको रेकर्ड कायम गरेको छ।
यसअघि अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक उपाधि जितेका थिए।...









